गुजरातमा मनसुनी बाढीका कारण २८ जनाको मृत्यु

भारी बर्षाका कारण नदीका बहाव बढेका छन्। नदी नजिक बसोबास गर्ने ३० हजारभन्दा बढी मानिस घर छाडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन्।  

भारतको गुजरात राज्यमा भारी मनसुनी  वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ।

मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ। भारी बर्षाका कारण नदीका बहाव बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजारभन्दा बढी मानिस घर छाडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन्।  

गुजरात सरकारले बुधबार १३ जनाको बाढीमा डुबेर मृत्यु भएको तथा बाँकीको घर वा रुखले पुरिएर मृत्यु भएको जनाएको छ। स्रोतका अनुसार विपद्‌बाट करिब एक हजार ८५६ जनालाई उद्धार गरिएको तथा राहत कार्यका लागि सेनाका अधिकारी तैनाथ गरिएको छ।

विपत्‌का कारण उर्जा तथा बिद्युत सेवा प्रभावित हुँदा करीब एक हजार गाउँ बिद्युत्‌विहीन भएको जनाइएको छ। विपद् अधिकारीहरूले सार्वजनिक गरेको तस्वीर तथा भिडियोमा उनीहरूले बाढीमा फसेका मानिसलाई बचाउन प्रयास गरिरहेको देखाइएको छ।

विज्ञले जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको संख्या बढाइरहेको जनाएका छन्।