बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ घाइते

दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको बस राँझामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।

नेपालगन्ज– बाँकेको राँझा चोकनजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य २७ जना घाइते भएका छन्।

दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुवाहक बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 

बस दुर्घटनामा परी दाङको तुलसीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले बताए।

उनका अनुसार घाइते भएकाहरूको नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीको भनाइ छ।