बागलुङमा विद्युत् अनियमित हुँदा मारमा उपभोक्ता

बागलुङमा दुई महिनायता शनिबार विद्युत् कटौती भइरहेको छ भने अन्य समयमा पूर्वसूचनाबिना विद्युत् कटौती हुँदा उपभोक्ता र उद्योगी मारमा परेका छन्।

बागलुङ– पछिल्लो दुई महिनायता बागलुङमा विद्युत् अनियमित भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले वितरण गर्दै आएको विद्युत् अनियमित हुँदा यहाँका उद्योगी मारमा परेका छन्। 

पछिल्लो दुई महिनायता शनिबार विद्युत् कटौती भइरहेको छ भने अन्य समयमा पूर्वसूचना नगरी विद्युत् कटौती हुँदा उपभोक्ता र उद्योगी मारमा परेका छन्। पर्वतको मोदीबाट सोझै बागलुङ नगरपालिका–१ रामरेखा स्थितको ३३–११ केभी क्षमताको सबस्टेसनमा ल्याइएको विद्युत्मा पटक–पटक समस्या आउँदा विद्युत् कटौती भइरहेको छ।

विद्युत् कटौतीले बागलुङभित्र रहेका पोलिक्निक, ल्याब, फर्निचर, ग्रिल उद्योग, घरेलु उद्योग, बेकरी, होटल, रेस्टुरेन्ट, अफसेट प्रेस, सरकारी तथा गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था लगायतलाई समस्या भएको हो।

विद्युत् सेवा अनियमित हुँदा रातको समयमा विद्यार्थीलाई अध्ययनमा समेत समस्या भएको छ। बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युत्बाट चल्ने धेरै सामग्री बिग्रिने गरेको स्थानीयको भनाइ छ। रामरेखा सबस्टेसनबाट वितरण भइरहेको तित्याङ–सिगानामा क्षमताअनुसारको विद्युत् नपुग्दा त्यहाँका फर्निचर लगायत अन्य घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। 

फर्निचरलाई आवश्यक विद्युत् नै आपूर्ति नभएको र आपूर्ति भइरहेको विद्युत्समेत पटक–पटक कटौती हुँदा दुई महिनादेखि फर्निचर व्यवसाय नै धराशायी बन्न थालेको बागलुङ–८ सिगानाका फर्निचर व्यवसायी राज जिसीले बताए।

“जिल्लाभरमै विद्युत् अनियमित हुँदा हामी जस्ता साना उद्योगीलाई समस्या भएको छ, अहिले रायडाँडा तर्फको प्रशारण लाइनमा तित्याङ र सिगानाको लाइन जोड्न नसक्दा फर्निचरका उपकरण नै चल्न छोडेको छ,” जिसीले भने, “विद्युत् कार्यालयले उचित पहलकदमी नलिँदा हामी जस्ता उद्योगी पलायन हुने अवस्था आएको छ, विद्युत् उत्पादन बढे पनि प्रसारण लाइनको क्षमता नबढ्दा उद्योगी तथा उपभोक्ता मारमा परेका छन्।”

पछिल्लो समय बागलुङमा विद्युत् आउने जाने गर्दा विद्युतीय उपकरणसमेत बिग्रने समस्या आएको स्थानीय हरि लम्सालले बताए। विद्युत् कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ। विद्युत् कटौतीले बिरामीले अनलाइनबाट पाउने सेवा प्रभावित भएको छ। 

बिरामीको सबै विवरण अनलाइनमा भएको र विद्युत् कटौतीले लामो समय कुर्नुपर्ने बाध्यता आइलागेको बागलुङका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए। बागलुङमा पर्वतको मोदीबाट विद्युत् आपूर्ति हुने गरेको छ। लामो प्रसारण लाइन तथा बर्खामा पहिरो जाने, विद्युतीय पोलमा आउने समस्या जस्ता कारण बागलुङमा विद्युत् अनियमित रूपमा जाने गरेको छ। 

दाना–खुर्कोट सबस्टेसनको विद्युत् ल्याउन नसकिएको र बागलुङमा आएको मोदीको विद्युत्मा दिन प्रतिदिन समस्या आउने गरेको छ। दाना–खुर्कोट सबस्टेसनको विद्युत् बागलुङ ल्याउन ठेक्का भइसकेको छ।

नेपाल विद्युत् प्राधिकरण बागलुङले खुर्कोट सबस्टेसनबाटसमेत विद्युत् ल्याउने र वैकल्पिक रूपमा मात्रै मोदीको विद्युत् प्रयोग गर्ने योजना बनाए पनि तत्कालै सम्भावना नभएको बागलुङ वितरण केन्द्रका इन्जिनियर रमेश पौडेलले जानकारी दिए। विद्युत् कार्यालयले सामुदायिक वनका रुख काट्न नसक्दासमेत विद्युत् आपूर्तिमा समस्या भइरहेको बताए। 

बागलुङ र पर्वतको फलेवास क्षेत्रमा आउने लाइन एउटै भएका कारण पर्वतमा आउने समस्याले बागलुङ पनि प्रभावित हुने गरेको पौडेलको भनाइ छ।

“पुरानो प्रसारण लाइनमा समस्या देखिएको छ, पर्वतमा समस्या आउँदासमेत बागलुङ पूरै अन्धकार हुन्छ, बागलुङको रायडाँडामा समस्या आउँदा अहिले बागलुङ बजारमा विद्युत् काट्नुपर्ने अवस्था छ”, इन्जिनियर पौडेलले भने, “रामरेखा सबस्टेसनको स्तरोन्नतिको काम भइरहेकाले समेत विद्युत् अनियमित भएको हो, आगामी दिनमा विद्युत् कटौती घट्छ, सबस्टेसन स्तरोन्नतिसँगै बागलुङ, गलकोट, कुश्मिसेरा लगायतका क्षेत्रको छुट्टाछुट्टै प्रसारण लाइन बनाएपछि समस्या घटेर जानेछ।”

विद्युत् आपूर्ति अनियमितले उद्योगी तथा व्यवसायीलाई लाखौँको क्षति भए पनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए। अहिले सामान्य झरी पर्दा र हावा चल्दासमेत दिनभर विद्युत् नआउने समस्या व्याप्त रहेको छ।