हुलाकी सडक निर्माणलाई गति दिन सरकारलाई सांसदको ध्यानाकर्षण

राष्ट्रियसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसदले हुलाकी सडक निर्माणलाई गति दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– राष्ट्रियसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसदले हुलाकी सडक निर्माणलाई गति दिन सरकारको ध्यानाकर्षण गराएका छन्। 

सांसद आनन्दप्रसाद ढुंगाना तराई मधेशको लाइफलाइन मानिए पनि हुलाकी सडक निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गरे। उनले सो आयोजनामा देखिएको समस्या समाधान गरी तत्काल निर्माणलाई गति दिन सरकारको ध्यानाकर्षण गराए।

“हुलाकी राजमार्ग बन्नुपर्छ, मधेशको विकास हुन्छ भनेर मत राख्दै आएको छु। सडक त बन्दै छ तर त्यहाँ निर्माणाधीन पुल समयमै बन्न सकेका छैनन्। अनशन गरेपछि मात्रै पुल बन्ने हो?” सांसद ढुंगानाले भने।

सांसद डा अञ्जान शाक्यले धुलिखेलमा ८४ वर्षीय वृद्ध भिक्षुमाथि सांघातिक आक्रमण भएको उल्लेख गर्दै दोषीमाथि कारबाहीको माग गरिन्। उनले ती भिक्षुलाई सुनियोजित रूपमा लुटपाट गर्ने गरी आक्रमण भएको तथा उक्त घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरिन्।

सांसद वामदेव गौतमले नेपालको भौगर्भिक अवस्थाको अध्ययन नगरी सडक निर्माण गरिएकाले दुर्घटना बढ्दै गएको बताए। उनले वस्तुनिष्ठ योजना बनाई प्रभावकारी अध्ययन गरेर मात्रै सडक निर्माण गर्न सुझाव दिए।

सांसद भुवनबहादुर सुनारले पछिल्लो समय महिला हिंसाका घटनामा वृद्धि भएकाले दोषीमाथि कारबाहीको माग गरे। उनले अन्तरजातीय प्रेम सम्बन्धका कारण म्याग्दीकी १९ वर्षीय युवतीको हत्या भएको उदाहरण दिँदै उक्त घटनामा संलग्न अपराधीलाई कारबाही गर्न सरकारसँग माग गरे।