बाढीपहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त, यातायात अवरुद्ध

सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन्। स्याउ बोकेर गएका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन्।

मुगु– निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण सडक र पुल भत्किँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली प्रदेशको जुम्ला, कालीकोट, मुगु जोड्ने एक मात्र राष्ट्रिय सडक मार्ग कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि सवारी आवागमन प्रभावति भएको छ।

बुधबार रातिदेखि भएको अविरल वर्षापछि गगने खोलामा आएको बाढीसँगैको पहिरोले सडक र दही खोलामा आएको बाढीले पुल बगाउँदा राजमार्ग पूर्ण रूपमा बन्द भएको हो। गगने, एस मोड, दैखोला र मेहर खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए।

उनका अनुसार तीन ठाउँमा ठूलो पहिरोसहित हुल्म, जिते, जितेगडा, सेरिघाट लगायतका स्थान स–साना पहिरो आएको छ। सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्र दैखोला–जुम्लाको १०४ किमी क्षेत्रभित्र निरन्तरको पहिरोले यात्रा सास्तीपूर्ण बनेको छ। विशेष गरी शुभकालिका गाउँपालिका जानका लागि निर्माण गरिएको ग्रामीण सडक पनि अवरुद्ध छ। गगने खोला क्षेत्रमा सडक नै भिरालो भएको स्थानीयले बताएका छन्।

डिभिजन कार्यालयले मेसिनसहित पहिरो पन्छाउन जनशक्ति परिचालन भइसकेको जनाएको छ। तर साना ठूला गरी दर्जन बढी स्थानमा पहिरो गएकाले सडक खुल्न तीनदेखि चार दिनसम्म लाग्ने सडक डिभिजनको अनुमान छ।

दैखोलामा पुल नै बगाउँदा खोलामा एउटा मालवाहक ट्रकसमेत फसेको छ। सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन्। स्याउ बोकेर गएका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन्।

२३२ किलोमिटर लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ। हालसम्म चार दर्जनभन्दा बढी पहिरो गए पनि यस वर्ष हालसम्मकै ठूलो पहिरो गगने खोला आएको हो। गगने खोलामा बर्सेनि पहिरो जाँदा यात्रुले सास्ती खेप्दै आएका छन्।