उमेरहदका आधारमा अवकाशमा नपठाउन माग गरिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

उमेरहदका आधारमा अवकाशमा नपठाउन माग गर्दै एआईजी श्याम ज्ञवालीसहित पाँच जनाले दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

काठमाडौँ– नेपाल प्रहरीमा उमेरहदका आधारमा अवकाशमा नपठाउन माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

उमेरहदले अवकाश पाउने नियमावलीको व्यवस्था रोक्न माग गर्दै एआईजी श्याम ज्ञवालीसहित प्रहरीका पाँच अधिकृतले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सारंगा सुवेदीको इजलासले विपक्षीसँग कारण देखाऊ आदेश दिएको हो।

एआईजी ज्ञवालीसहित डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गरेका थिए। उनीहरूले रिट निवेदनमा दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गरेका थिए। प्रहरी नियमावली–२०७१ अनुसार प्रहरी निरीक्षक ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ।