बाँके बस दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

बाँकेमा बिहीबार भएको बस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालगन्ज– बाँकेको रत्न राजमार्ग सडकखण्डको गनापुरमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको जानकारी दिए।

उनका अनुसार गम्भीर घाइते भएका दाङ जिल्लाको घोराहीका ३० वर्षीय विमल राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। यसअघि दुर्घटनामा दाङ, तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको भेरी अस्पतालमा मृत्यु भएको थियो।

दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर नेपालगन्ज सडकखण्डको गनापुरमा अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ। 

दुर्घटनामा घाइते २६ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ। तीमध्ये भेरी अस्पतालमा २१ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चार जनाको उपचार भइरहेको प्रहरीको भनाइ छ।