मन्त्रिपरिषद् बैठक : अर्याल मुख्यसचिव नियुक्त, एनसेललाई ४ किस्तामा नवीकरण शुल्क बुझाउन दिने निर्णय

सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ भने एनसेलले नवीकरण शुल्क किस्ताबन्दीमा तिर्ने गरी प्रक्रिया अगाडि बढाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

काठमाडौँ– सरकारले सचिव एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार मुख्यसचिव लीलादेवी गर्तौलाको सेवा अवधि शुक्रबारबाट सकिने भएकाले त्यसको भोलिपल्ट शनिबारदेखि लागू हुने गरी अर्याललाई मुख्यसचिव तोकिएको हो।

“नेपाल सरकारका वर्तमान मुख्यसचिव लीलादेवी गर्तौलाको सेवा अवधि भदौ १४ गतेबाट सकिने भएकाले नेपाल सरकारको गृह मन्त्रालयमा कार्यरत सचिव एकनारायण अर्याललाई भदौ १५ गतेदेखि लागू हुने गरी नेपाल सरकारको मुख्यसचिव तोकिएको छ,” उनले भने।

त्यस्तै, सरकारले दूरसञ्चार सेवा प्रदायक टेलिकम कम्पनी एनसेललाई अनुमतिपत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने निर्णय गरेको छ।

“एनसेलको अनुमति पत्र नवीकरणका लागि उसले बुझाउनुपर्ने २० अर्ब रकम दस्तुरमध्ये चार किस्तामा नवीकरण दस्तुर बुझाउने व्यवस्था गर्ने निर्णय भएको छ,” उनले भने।

उनका अनुसार चार किस्तामध्ये पहिलो किस्ताको ब्याज नलिने तर दोस्रो, तेस्रो र चौथो किस्ताको १० प्रतिशतका दरले ब्याज लिने गरी प्रक्रिया अगाडि बढाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको हो।

त्यस्तै, बैठकले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डीसीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।