मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री सम्मान

मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारणसभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको छ।

काठमाडौँ– यस वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ले पाउने भएको छ।

मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारणसभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए।

मदन पुरस्कार २०८० को श्रेष्ठ सूचीमा पाँच पुस्तक छानिएका थिए। जसमा भक्त स्याङतानको डम्फुको आत्मालाप (कथासंग्रह), जीवन क्षेत्रीको नुन-तेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र संग्रह), मोहन मैनालीको मुकाम रणमैदान (इतिहास) र रोशन थापा ‘नीरव’को सन्त्रासका साठी दिन (उपन्यास) रहेका थिए। 

साथै, बैठकले प्राडा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री सम्मान २०८० दिने निर्णय गरेको छ। दुवै पुरस्कारको राशि चार/चार लाख रुपैयाँ रहेको छ।

गुठीका अनुसार यस वर्ष मदन पुरस्कारका लागि ३०४ पुस्तक प्राप्त भएका थिए। २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ले प्राप्त गरेको थियो।