पेरिस पारालम्पिक : पलेशा क्वाटरफाइनलमा

पलेशाले अब क्वाटरफाइनलमा ब्राजिलकी मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्ने छिन्।

काठमाडौँ– नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन पेरिस पारालम्पिकको क्वाटरफाइनलमा प्रवेश गरेकी छन्। फ्रान्सको पेरिसमा शुक्रबार सम्पन्न खेलमा उनले भेनेजुएलाकी भलेरिया मोरालेसलाई पराजित गरेकी हुन्।

पलेशाले भेनेजुएलाकी मोरालेसलाई ३१–० अंकले पराजित गरिन्। उनी पहिलो चरणमा  के–४४ विधाअन्तर्गत महिला ५७ किलो मुनिको तौलमा विजयी भएकी हुन्। पलेशाले अब क्वाटरफाइनलमा ब्राजिलकी मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्ने छिन्। फर्नान्डेज बाई पाउँदै सिधै क्वाटरफाइनलमा प्रवेश गरेकी हुन्। 

गत चैतमा चीनको ताइयानमा भएको पारा ओलम्पिकको एशियाली छनोट प्रतियोगितामा पलेशाले स्वर्ण पदक जित्दै पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी हुन्। छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने उनी पहिलो नेपाली खेलाडी हुन्। गत वर्ष चीनको हाङजाउमा सम्पन्न १९औँ एशियाली खेलकुदमा पलेशाले कांस्य पदक प्राप्त गरेकी थिइन्। 

यसअघि बिहीबार सम्पन्न खेलमा नेपालका भरतसिंह महता तेक्वान्दोको के–४४ विधाको पुरुष ५८ किलो मुनिको तौलमा जापानका मित्सुया तानाकासँग १९–३ अंकले पराजित भएका थिए। उनी ‘वाइल्ड कार्ड’मार्फत पेरिस ओलम्पिकका लागि छनोट भएका थिए।