ताेरी खेती छाड्दै गुल्मीका किसान

गुल्मीमा ताेरी खेती गर्ने किसान घटिरहेका छन्। माैसम प्रतिकुलताका कारण किसानले याे बाली लगाउन छाडेका हुन्।

तस्वीर : रासस

रेसुङ्गा– गुल्मीमा तोरी खेतीप्रति किसानको आकर्षण घटिरहेको छ। अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नेहरू बढी भेटिन्छन्। पछिल्लो समय त त्यो पनि घट्दो क्रममा छ।

रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन्। “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उनले भने, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन।” आफूले गरेको तोरी खेती आकाशे पानीको भरमा रहेकाले सोचेजस्तो उत्पादन नहुने ६२ वर्षीय पन्थीको भनाइ छ।

तीनमहिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मेहेनत पनि गर्नुपर्दैन। असोजमा तोरी छरेपछि मङ्सिरमा छिन्ने समय हुन्छ। तोरीलाई झार गोड्ने, बारम्बार सिँचाइ गर्ने, धेरै मल राख्नुपर्ने र लगातार हेरचाह गर्नुपर्ने आवश्यक पर्दैन। चन्द्रकला मरासिनी बजारमा तेलहनजन्य पदार्थको मूल्य आकाशिएका बेला तोरी उत्पादन घट्ने पिरलोमा छिन्।

“असोजमा तोरी छरियो, कात्तिक अन्तिमसम्म पनि पानी परेन”, उनले भनिन्, “बजारबाट किनेर तेल खान सक्ने अवस्था छैन।” समयमा मल पाउने, बीउ पाउने र सिँचाइको सुविधा भएमा तोरी खेतीमा आकर्षण हुने मरासिनीको भनाइ छ। रेसुङ्गा–४ का दीननाथ भण्डारीले आकाशे पानीको भरमा तोरी खेती गर्नुपर्ने बाध्यता भएकाले व्यावसायिकतर्फ नगएको बताए।

समयमा पानी परे राम्रो हुने र पानी नपरे लगानी खेर जाने जोखिमका कारण सबै किसान तोरी खेतीतर्फ आकर्षित नभएको उनले सुनाए। “अघिल्लो वर्ष समयमा पानी परेकाले राम्रै तोरी उत्पादन भयो तर यसपटक लगानी खेर जानेजस्तो छ”,  निराश हुँदै उनी भन्छन्, “मौसमी वर्षाका भरमा गरेको खेती एकनाश हुँदैन। त्यसैले जाँगर चल्दैन।”

यति मात्र होइन, जिल्लाका सबै ठाउँमा व्यावसायिक तोरी खेतीतर्फ कसैको ध्यान पुगेको छैन। अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नेहरू बढी भेटिन्छन्। पछिल्लो समयत त्यो पनि घट्दो क्रममा छन्। बजारमा मूल्य आकाशिएको भए पनि तेलहन आयातकै भरमा रहेको छ। आंशिकरूपमा तोरी खेती गरिरहेका किसान विभिन्न समस्याबाट हैरानी खेप्न बाध्य छन्। 

कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जलवायु परिवर्तनका कारण समयमा पानी नपर्दा तोरी उत्पादन घट्ने जानकारी दिए। अघिल्लो वर्ष समयमा परेको पानीका कारण उत्पादन पनि बढेको उनको भनाइ छ। 

पोहोर गुल्मीको ५८३ हेक्टर क्षेत्रफलमा ५८९ मेट्रिक टन तोरी उत्पादन भएको थियो। यस वर्ष दुई प्रतिशतले उत्पादन घट्न सक्ने ज्ञान केन्द्रको अनुमान छ। “समयमा पानी परेन, हुर्किन लागेको तोरीमा लाही किराको समस्या बढ्यो”, उनले भने।