निर्माणाधीन सेफ्टी ट्यांकीभित्र बेहोस भेटिएका ३ जनाको उपचारका क्रममा मृत्यु

विनयी–त्रिवेणी गाउँपालिका–७ रानीनगरमा सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।

नवलपरासी– नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका–७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ। स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको शौचालयको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो।

सेफ्टी टंकीभित्र तीन जना बेहोस भई लडिरहेको अवस्थामा रहेका उनीहरूको उद्धार गरी उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकमध्ये दुई जनाको शव भीम अस्पताल भैरहवा रुपन्देहीमा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए। घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।