पत्रकार उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचित

पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन भएको छ।

काठमाडौँ– पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन भएको छ। शुक्रबार काठमाडौँमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तकको विमोचन गरेका हुन्।

पुस्तक विमोचन गर्दै देउवाले द्वन्द्वकालमा पत्रकारिता क्षेत्रले भोगेका समस्या र देखेका घटनाक्रमलाई पुस्तकमा मिहिनेतसाथ समावेश गरिएको बताए। पुस्तक विमोचनका क्रममा उनले पुस्तकमै समेटिएको एउटा घटना, कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटना उल्लेख गरे । धनगढीबाट नेपालगञ्ज जादै गरेका देउवालाई २०५९ साल भदौ ८ गते माओवादीले कैलालीको आमखैयामा आक्रमण गरेको थियो । पुस्तकमा समेटिएको देउवामाथिको त्यो आक्रमण शिर्षकको लेखका विषयमा बोल्दै देउवाले ‘ममाथि आक्रमण हुँदा देशमा युद्धविराम थियो, गोली हान्न हुँदैनथ्यो’ भन्ने टिप्पणी गरे।

कार्यक्रममा देउवाले सबै दलले आवश्यक ठानेमा संविधान संशोधन हुन सक्ने प्रस्ट पारे। 

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार कुन्द दीक्षितले यो पुस्तक द्वन्द्वलाई फेरि दोहोरिन नदिन सहयोगी बन्ने आशा व्यक्त गरे। संगम बुक्स पब्लिकेसनले प्रकाशन गरेको पुस्तकमा लेखक उपाध्यायले द्वन्द्वको एक दशकमा सुदूरपश्चिम क्षेत्रको पत्रकारिता र त्यस समयमा घटेका विभिन्न घटनाक्रमलाई समावेश गरेका छन्।