पहिरोले कर्णाली ४ दिनदेखि राजमार्ग अवरुद्ध, स्याउ बोकेका सवारीसाधन अलपत्र

कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध हुँदा हुम्ला, मुगुबाट सुर्खेत तथा नेपालगन्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन्।

कर्णाली– कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध हुँदा करोडौँ मूल्य बराबरको स्याउ बोकेका सवारीसाधन अलपत्र परेका छन्। कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो। 

हुम्ला, मुगुबाट सुर्खेत नेपालगन्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन्।

कालीकोटको शुभकालिकाका गाउँपालिका–१ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

“पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको छ। यही भदौ १२ गते बेलुका गएको पहिरोबाट अवरुद्ध कालीकोट सडक खण्ड आज बेलुकासम्म खुलाउने प्रयासमा छौँ। त्यसका लागि पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ। दैलेखमा पनि पहिरो पन्छाउने प्रयास भइरहेको छ,” उनले भने।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले यथाशीघ्र सडक आगमन सञ्चालन होस् भनेर तीन दिनदेखि राकममा बसेर स्रोत परिचालन गरिँदै आएको बताए। “हामीले तीन वटा एक्स्काभेटर लगाएर आठबीस नगरपालिकास्थित मालाचौरमा गएको पहिरो पन्छ्याइसकेका छौँ,” उनले भने, “किटु खोलामा सडक भासिएकाले तलबाट पर्खाल लगाउने काम भइरहेको छ।”

पहिरो पन्छ्याउने कामलाई तीव्र गतिमा बढाउन सुर्खेत र नेपालगन्जबाट एक्स्काभेटर मगाइएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए। उनका अनुसार सडकको पहिरो पन्छ्याएर नियमित आवतजावत हुन अझै दुई दिन लाग्नेछ। हिलो भएको ठाउँमा प्रहरीद्वारा हिँड्नलाई ढुंगा राखेर पैदल हिँड्ने यात्रालाई सहयोग गरिएको उनले बताए।

यात्रुलाई पहिरो गएको ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउन प्रहरीले सहयोग गरे पनि स्याउ बोकेका गाडीहरू भने सडकमै थन्किएका छन्। समयमै नेपालगन्ज सुर्खेत गाडी पुर्‍याउन नसके लाखौँको क्षति हुने चन्दननाथ नगरपालिका–९ जुम्लाका स्याउ व्यापारी रामबहादुर खत्रीले दुखेसो पोखे। 

“केही आम्दानी लिने आशा बोकेर स्याउ झारियो, चार दिनदेखि बाटोमा थन्किएको छ,” उनले भने, “दैनिक गाडी चालक र सहचालकलाई खान बस्न व्यहोर्दै खर्च भइरहेको छ भने त्यसैगरी स्याउ ढुवानी भाडा बढी तिर्नुपर्ने अवस्था छ।” करोडौँको स्याउ अलपत्र पर्दा यसबाट स्याउ व्यापारीहरू चर्को मारमा परेका छन्।