सिन्का बेचेर जीवन निर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

आफ्नै घरनजिकै बाँसको झ्याङ रहेको र अरूसँग किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि यो पेसामा लागेको धनबहादुर सुनाउँछन्।

भोजपुर– इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बनेका छन्– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई। उमेरले ७९ वर्ष  पुगेका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्छन्।

धनबहादुर मात्र होइन, उनका दाजु रणबहादुरले पनि पहिला बाँसबाट सिन्का बनाएर बिक्री गर्दै आइरहेका थिए। “विगतमा १० देखि २० मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ, अहिले भने १२० सम्ममा बिक्री गर्दै आइरहेको छु,” उनले भने।

सिन्का बनाउन धेरै समय र मिहिनेत लाग्ने गरेको उनले बताए। “८० वर्ष पुग्न लाग्दा पनि पुरानो पेसा गरिरहेको छु, बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन्। धेरैले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन्,” उनले भने।

आफ्नै घरनजिकै बाँसको झ्याङ रहेको र अन्यकोबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि नै यो पेसामा लागेको धनबहादुर सुनाउँछन्। “अहिले त खाली युवाहरू विदेश जान तम्सिन्छन् तर, जोसजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन,” उनले भने। 

घरबाट १६ मुठा सिन्का लिएर बिक्रीका लागि सदरमुकाम आएका उनले केही समयमै ती सिन्का बिक्री गरिसकेको बताए। उनले ती सिन्का बिक्रीबाट एक हजार पाँच सय रुपैयाँभन्दा बढी रकम कमाएको बताए। सिन्का बिक्रीबाट उनलाई घरका लागि नुन, तेल किन्न सहज भएको छ। यस्तो काममा अहिलेका युवाले चासो नदेखाउँदा अबका दिनमा सिन्का पाउन मुस्किल हुने उनको भनाइ छ।

“अहिलेसम्म त भनेकाहरूलाई मैले सिन्का ल्याइदिएको छु, अब मैले छाडेपछि समस्या हुन्छ, त्यसपछि धार्मिक कार्यमा प्रयोग हुने दुनाटपरी कसरी बनाउने,” उनले भने।