चिनियाँ पूर्वराष्ट्रपति जियान जेमिनको बेइजिङमा अन्त्येष्टि

बुधबार निधन भएका चिनियाँ पूर्वराष्ट्रपति जियान जेमिनको साेमबार बेइजिङस्थित ‘बाबाओसान रिभोलुसनरी सिमेट्री’मा अन्त्येष्टि गरिएको छ।

तस्वीर : सीन्ह्वा

चिनियाँ पूर्वराष्ट्रपति जियान जेमिनको बेइजिङस्थित ‘बाबाओसान रिभोलुसनरी सिमेट्री’मा अन्त्येष्टि गरिएको छ।

चीनको सिंजिन्सान जिल्लास्थित ‘बाबाओसान रिभोलुसनरी सिमेट्री’ चिनियाँ कम्युनिस्ट पार्टीका उच्चाधिकारी तथा वरिष्ठ सरकारी अधिकारीको अन्तिम संस्कार गर्ने ठाउँ हो।

नेता जियानको विशेष सम्मानका साथ सोमबार अन्त्येष्टि भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीभित्रका प्रभावशाली नेता जियान चिनियाँ सेना र जनताका प्रिय व्यक्तिका रुपमा चिनिन्छन्। चीनमा उनी महान मार्क्सवादी नेता, सर्वहारा क्रान्तिका दूत, सैनिक रणनीतिज्ञ र कूटनीतिज्ञका रूपमा चिनिने सीजीटीएनले उल्लेख गरेको छ।

उनले चीनको आर्थिक विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। घण्टौँसम्म चलेको अन्त्येष्टि समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘कमरेड जियान’को निर्णायक नेतृत्वको प्रशंसा गरेका थिए। संकटको घडीमा पनि सैद्धान्तिक आविष्कार, महत्वपूर्ण र निर्णय गर्नमा असाधारण योगदान दिएकाे भन्दै राष्ट्रपति सीले जियानको बिदाई गरेको बीबीसीले उल्लेख गरेको छ।

जियानको पुर्खौली घर जियाङसु प्रान्तको याङझाओमा पनि अन्तिम बिदाईका लागि शोकाकूलको लाम लागेको थियो। यस्तै, सांघाई, हङकङ, बेइजिङ, सिन्जियानसहित चीनका अधिकांश स्थानमा जियानकाे सम्झनामा मौन धारणा गरिएको थियो। जियानको गत बुधबार ९६ वर्षको उमेरमा निधन भएको थियो।

ब्लड क्यान्सरपीडित शरीरका धेरै अंगले काम नगरेपछि उनको सांघाईमा निधन भएको थियो। त्यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि सिसाको कफिनमा राखिएको थियाे। सोमबार नै शव विमानमार्फत बेइजिङ लगिएको थियो।

एक समारोहबीच राष्ट्रपति सी र कम्युनिस्ट पार्टीका नेताले उनलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए।