तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

खाँदबारी–२ चेवाबेसीमा १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो। प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ।

खाँदबारी– संखुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने भएका छन्। 

भारतको सतलज निर्माण कम्पनीले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनः स्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिनेछ।

यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुने तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले बताए। 

प्रभावित स्थानीयलाई करिब एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ। तल्लो अरुण बन्ने भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग कम्पनीले छलफल अघि बढाएको छ।

९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो। भारतीय कम्पनी सतलजले नै अहिले अरुण तेस्रो आयोजना निर्माण गरिरहेको छ।