स्वामित्व हस्तान्तरण नहुँदा धनगढी सभागृह प्रयोगविहीन

दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा ७०० जना क्षमताको मुख्य हल, २०० जना क्षमताको कार्यक्रम कक्ष, १०० सवारीसाधन अटाउने क्षमताको पार्किङ रहेको छ।

अत्तरिया– धनगढी उपमहानगरपालिका–८  धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। 

दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा ७०० जना क्षमताको एउटा मुख्य हल, २०० जना क्षमताको कार्यक्रम कक्ष, १०० सवारीसाधन अटाउने क्षमताको पार्किङ रहेको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीले जानकारी दिए। उनका अनुसार संघीय सरकारको ३२ करोड ६० लाख ८१ हजारको लागतमा सभागृह निर्माण गरिएको हो। 

शहरी विकास मन्त्रालयअन्तर्गत संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत २०७५ माघदेखि निर्माण शुरू भएर २०७९ असारमा सम्पन्न भएको थियो। निर्माण कम्पनी ‘वीकेओआई एमके रोयल’ जेभीले निर्माणको जिम्मा लिएको थियो। कार्यान्वयन एकाइका सूचना अधिकारी  कलौनीका अनुसार धनगढी उपमहानगरले उपलब्ध गराएको एक बिघा जग्गामा निर्माण भएको छ। सभागृहमा रङरोगन, विद्युत् जडानलगायत काम भइसकेका छन्। 

“निर्माण सम्पन्नपछि धनगढी उपमहानगरलाई हस्तान्तरण गर्ने तयारी थियो,” सूचना अधिकारी कलौनीले भने, “उपमहानगरले फर्निचर तथा साउन्डसिस्टम जडान नभएको भन्दै बुझ्न मानेनन्। त्यसैले अहिलेसम्म हस्तान्तरण हुनसकेको छैन।”

साउन्डसिस्टम जडानका लागि बजेट अभाव भएको उनले बताए। “अहिले रु १५ लाख बजेट आएको छ। त्यसले पुग्दैन। न्यूनतम ८० लाखदेखि एक करोड रुपैयाँ हाराहारीमा बजेट आवश्यक पर्छ,” उनले भने।

धनगढीमा हुने सभा, गोष्ठी, बैठक सेमिनारजस्ता ठूला कार्यक्रम गर्ने उद्देश्यले बनेको सभागृह सञ्चालनमा आउन नसक्दा सरकारी कार्यालयले त्यस्ता कार्यक्रम होटल, पार्टीप्यालेसमा महँगो भाडा तिरेर सञ्चालन गरिरहेका छन्।