पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध

सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ। पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।

लमजुङ– पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध भएको छ। अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ उदिपुरमा आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले बताए।  

उनका अनुसार सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ। पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ। सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन्।

यो स्थानमा विगत तीन वर्ष अघिदेखि बर्सेनि पहिरो खस्न थालेको हो। बेँसीशहरबाट तनहुँ–काठमाडौँ–पोखरा–चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीशहर आउने यात्रीलाई समस्या भएको छ। 

साथै यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन्। बर्खा लागेयता दर्जनौँ पटक यो सडकका विभिन्न स्थानमा पहिरो पटक–पटक सडक अवरुद्ध बनाउँदा यात्रीलाई सास्ती भएको छ।