स्नातकमा ‘हेरिटेज कन्जर्भेसन’ पढाउँदै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ विश्वविद्यालय र आरपी फाउन्डेसन फर कन्जर्भेसनको संयुक्त सहकार्यमा आगामी नोभेम्बरदेखि स्नातक तहमा ‘हेरिटेज कन्जर्भेसन’ अध्यापन हुने भएको छ। 

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय र आरपी फाउन्डेसन फर कन्जर्भेसनको संयुक्त सहकार्यमा नोभेम्बरदेखि स्नातक तहमा ‘हेरिटेज कन्जर्भेसन’ अध्यापन हुने भएको छ। 

शनिबार भक्तपुरस्थित नेसनल भोकेसन एकेडेमीमा आयोजित कार्यक्रममा आरपी फाउन्डेसनका प्रमुख रवीन्द्र पुरीले यसबारे जानकारी दिएका हुन्। 

कार्यक्रममा प्रमुख पुरीले कला, संस्कृति, सम्पदामा उत्कृष्ट नेपालका (विशेषतः काठमाडौँ उपत्यका)का ९० प्रतिशत सम्पदा विकासको नाममा विनाश भएको बताए।

सम्पदा संरक्षणको अवधारणा नबुझ्दा संरक्षणको नाममा विकृति मौलाएको उनको भनाइ छ। “संरक्षणको अवधारणा बुझ्नका लागि प्राज्ञिक तहको आवश्यकता महसुस भएको र यसको आधार अध्ययन कार्यक्रमले तयार पार्छ,” उनले भने। 

विश्वविद्यालयका उपकुलपति भोला थापाले कार्यक्रमको बेवसाइट शुरूआत गरेका थिए। पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले सम्पदा संरक्षणमा सैद्धान्तिक र प्रयोगात्मक पक्ष एकअर्काका परिपूरक  भएको बताइन्। 

सैद्धान्तिक ज्ञान र प्रयोगात्मक कलाको उक्त खाडललाई भर्ने काम यसले अध्ययनले गर्नेमा आशावादी भएको उनले बताइन्। हाल सम्पदा संरक्षणलाई विकासको बाधक रूपमा हेरिँदा सरकारी निकायबीच नै वैचारिक भिन्नता देखिन थालेको उनको भनाइ थियो। 

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले हेर्दा  सुन्दर र प्यारो लाग्ने सम्पदाहरू दृश्यमात्र नभई दर्शन (मूल्यमान्यता) मा पनि अब्बल रहेको बताए। तर पनौतीजस्ता न्यून आय भएको स्थानीय तहलाई सम्पदा संरक्षण चुनौती भएको उनको भनाइ छ। 

लेखक तथा पत्रकार कनकमणि दीक्षितले सम्पदा संरक्षणप्रति चेतना र मर्मतसम्भार दुवै तहमा कमी रहेको बताए। 

नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले ५० वर्षअघि शुरू भएको जीआईजेटको कार्यक्रयम स्मरण गर्दै काठमाडौँ विश्वविद्यालय र आरपी फाउन्डेसनको यो कार्यक्रमका लागि जर्मन सरकार सदैव सहयोगी रहेको बताए। 

उपकुलपति भोला थापाले अध्ययनसँगै सीपको वृद्धि विकास हुने कार्यक्रम विश्वविद्यालय तहमा आउनुपर्ने बताए। स्नातक तहका लागि आएको कार्यक्रम उदाहरणीय हुनेमा उनी आशावादी छन्।

हेरिटेज कन्जर्भेसन अध्ययनका लागि २० विद्यार्थी मात्र छनोट हुनेछन्। आवेदनको अन्तिम मिति सेप्टेम्बर १६ सम्म* रहेको छ। विद्यार्थी छनोट प्रक्रिया लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत हुनेछ।

*यसअघि आवेदन मिति गलत परेकोले सच्याइयो– सम्पादक।