डलरको मूल्यवृद्धि, आयातमा कडाइ, चोरीपैठारीजस्ता कारणले पछिल्लो समय औद्योगिक उत्पादनहरूको माग घट्दा उद्योगहरू संकटमा जान थालेको निजी क्षेत्रको गुनासो छ।
काठमाडौँ– गत साउनयता सिमेन्टको माग ४०.२ प्रतिशत र फलामे डन्डीको माग ६१.१ प्रतिशतले घटेको नेपाल उद्योग परिसंघको सर्वेक्षणले देखाएको छ। त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्लास्टिकका निर्माण सामग्री, जुत्ता–चप्पल, फलामे पाइप, जस्तापाता, घरमा राखिने पानी ट्यांकीलगायतको माग पनि घटेको छ।
परिसंघले १०८ वटा उद्योगमा गरेको सर्वेक्षणले पछिल्लो तीन महिनामा औद्योगिक बस्तुको माग घट्दा उत्पादन पनि घटेको देखाएको छ। सरकार र निजी क्षेत्रले गर्ने भौतिक पूर्वाधार निर्माण ठप्प हुँदा निर्माण सामग्रीको माग घटेको उद्योगीहरू बताउँछन्।
भारतबाट सस्तोमा आउने खानेकुरा र दैनिक आवश्यकताका वस्तुतर्फ उपभोक्ता आकर्षित भएको र अन्य रुचिका तथा विलासी सामग्रीको उपयोग घटाउने गरेका कारण नेपाली उत्पादनको बजार घटेको निम्बस औद्योगिक समूहका अध्यक्ष जगदीश अग्रवाल बताउँछन्। परिसंघको सर्वेक्षणले प्लास्टिक सामग्रीको ३८.२ प्रतिशत र कृषि सम्बन्धी उत्पादनको माग ३०.७१ प्रतिशतले घटेको सर्वेक्षणमा उल्लेख छ। घरेलु अर्थतन्त्रको ठूलो हिस्सा अगोट्ने साना तथा मझौला उद्योगको माग ३३.७ प्रतिशतले घटेको सर्वेक्षणले देखाएको छ। सेवा तथा उत्पादन क्षेत्रमा समग्रमा २८.२८ प्रतिशतले कमी आएको देखिन्छ।
उद्योगहरूको उत्पादन संकुचित हुँदा लगानी संकटमा परेको अध्यक्ष अग्रवाल बताउँछन्। “बजारमा बस्तुको माग कम भएकोले स्वाभाविक रूपमा उद्योगहरूको उत्पादन पनि घटेको छ। यहीबेला बैंकको ब्याजदर बढ्दा पहिलेकै मूल्य राख्न सकिँदैन, मोल बढाउँदा बजारमा माग अझ घट्यो। माग नै नभएपछि उत्पादन पनि घटेको छ”, अग्रवालले भने।
छिमेकी भारतसहित विश्वभरि नै अहिले उत्पादन क्षेत्र प्रभावित भएको र त्यसको असर नेपालमा पनि परेको उनको भनाइ छ। तर, नेपालमा भने बैंकहरूको चालु पुँजी कर्जामा नेपाल राष्ट्र बैंकले सुधारको उद्देश्यले राखेर कडाइ गर्दा पनि उत्पादनमा असर पुगेको उनी बताउँछन्। कतिपय बस्तुहरूको उत्पादनमा ३० देखि ४० प्रतिशतले कमी आएको उनले बताए। “खानेकुरा र दैनिक आवश्यकताका बस्तुको माग सीमापारि विस्थापित भएको छ। सीमावारि नै किन्नुपर्ने र उपलब्ध नभए पनि काम चल्ने बस्तुको माग ह्वात्तै घटेको छ”, अग्रवालले भने।
स्वदेशी उद्योगका उत्पादनमा पर्ने लागत बढ्दा बजारमा प्रतिस्पर्धा गर्न मुस्किल हुन थालेको उद्योगीहरू बताउँछन्। चोरीपैठारीबाट भित्रिने बस्तुका कारण पनि उद्योगहरू संकटमा परेको उनीहरूको भनाइ छ। भन्सार विभागको तथ्यांकअनुसार औद्योगिक कच्चा पदार्थको आयातमा पनि उल्लेखनीय गिरावट देखिएको छ।

सिमेन्ट उद्योगमा चाहिने मुख्य कच्चा पदार्थ ‘क्लिकंर’को आयात यस आर्थिक वर्षको साउनदेखि कातिकसम्म शून्य छ। अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा २९ हजार ४४१ टन क्लिकंर आयात भएको थियो। नेपाली सिमेन्ट उद्योगमा आवश्यक करिब ६० प्रतिशत क्लिकंर भारतबाट आयात हुन्छ। बाँकी नेपाली खानीबाटै आपूर्ति हुने वीरगन्ज उद्योग वाणिज्य महासंघका महासचिव माधव राजपाल बताउँछन्।
त्यसबाहेक सिमेन्ट उद्योगलाई चाहिने अन्य कच्चा पदार्थ भारतबाटै आयात हुन्छ। ती सबैको आयात घटेको छ। अघिल्लो वर्ष साउनदेखि कातिकसम्म एक लाख १६ हजार ७०९ टन जिप्सम आयात भएको थियो। यस वर्ष त्यही अवधिमा एक लाख नौ हजार २८० टन मात्र आयात भएको छ। सिमेन्टको अर्को कच्चा पदार्थ सिलिकाको आयात पनि गत वर्षभन्दा घटेको छ।
शुभश्री जगदम्बा सिमेन्ट मिल्सका सञ्चालक राजेश अग्रवालका अनुसार अहिले उद्योगहरू बजारमा टिक्ने जुक्ति मात्र गरिरहेको बताउँछन्। “सिमेन्टको माग घटेकाले त्यसको प्रभाव उद्योगको उत्पादनमा परेको छ। हामीले उत्पादन भारी मात्रामा कटौती गरेको छौँ”, अग्रवालले भने अघिल्लो वर्षको तुलनामा फलामको आयात पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो चार महिनामा कच्चा पदार्थको रूपमा प्रयोग हुने फलाम ६ लाख ७९ हजार ८९० टन आयात भएको थियो। यस वर्ष पाँच लाख ३४ हजार ७७६ टन मात्र आयात भएको छ। कोरोना प्रभावको बेला आर्थिक वर्ष २०७७/७८ मा पनि अहिलेको भन्दा पाँच लाख ८८ हजार २९० टन बढी फलाम आयात भएको थियो। त्यसयता करिब दर्जन ठूला र मझौला उद्योग थपिइसकेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले मंसिर १३ मा जारी गरेको विज्ञप्तिअनुसार निर्माण क्षेत्रका उद्योगहरूले क्षमताको ३० प्रतिशत मात्र उत्पादन गरिरहेका छन्। महासंघ अध्यक्ष शेखर गोल्छाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मूलतः बाह्य क्षेत्र सन्तुलन मिलाउन ब्याजदर बढाउनुका साथै अप्रत्यक्ष एवं प्रत्यक्ष आयात नियन्त्रण गरिएको छ। आयात रोकिँदा अटोमोबाइलबाहेक अन्य सामान भन्सार छलेर आइरहेकै छ।” निजी क्षेत्रको उत्पादनको ठाउँ तस्करीबाट आएका सामग्रीले लिएको कारण उद्योगहरू संकटमा परेको महासंघको दाबी छ।
परिसंघको सर्वेक्षणले सेवा तथा उत्पादन क्षेत्रमा समग्रमा २८.२८ प्रतिशतले कमी आएको देखाएको छ। आन्तरिक रूपमा आर्थिक तरलता अभाव, चालु पुँजी कर्जा प्रवाहमा राष्ट्र बैंकको कडाइ, बढ्दो ब्याजदरलगायत कारणले समस्या भएको निजी क्षेत्रको ठहर ५।
रसिया–युक्रेन युद्धको प्रभाव, डलरको निरन्तर बढ्दो मूल्य र कोरोना महामारीका बेला आएको विश्वव्यापी आर्थिक मन्दीलाई बाह्य कारणको रूपमा हेरिएको उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष गणेशप्रसाद लाठ बताउँछन्। “औद्योगिक उत्पादनको लागि वातावरण बिथोलिएपछि समग्रमा नेपालमा भएको औद्योगिक लगानी संकटमा परको बुझ्नुपर्छ”, लाठले भने, “उद्योगमा भएको लगानी डुब्यो भने न बैंकहरू सुरक्षित हुनेछन्, न त देशको अर्थतन्त्र नै उठ्न सहज हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
