ला लिगा : एम्बाप्पेको पहिलो गोलसहित रियल विजयी

स्पेनिस ला लिगामा किलियन एम्बाप्पेले पहिलो गोल गर्दा रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ।

स्पेनिस ला लिगामा किलियन एम्बाप्पेले पहिलो गोल गर्दा रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ। 

स्पेनको मड्रिडमा अवस्थित सेन्टियागो बर्नाबेउ स्टेडियममा आइतबार राति भएको खेलमा रियल मड्रिड २–० गोलले विजयी बनेको हो। फ्रेन्च फरवार्ड एम्बाप्पेले खेलको ६७औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। उनलाई फेडेरिको भालभर्डेले गोलको अवसर सिर्जना गरे।

त्यसपछि बेटिसका गोलकिपरले भिनिसियस जुनियसलाई लडाएपछि पाएको पेनाल्टीलाई पनि एम्बाप्पेले सजिलै गोलमा परिणत गरे।

यूईएफए सुपरकपमा एटलान्टाविरुद्ध गोल गरेपछि एम्बाप्पेले ला लिगामा शुरूआती तीन खेलमा गोल गर्नबाट चुकेका थिए। त्यसपछि स्पेनिस मिडियामा उनको आलोचना हुन थालेको थियो।

खेलपछि एम्बाप्पेले स्पेनिस टेलिभिजनसँग भने, "यो उत्कृष्ट क्षण हो। म साँच्चै बर्नाबेउमा गोल गर्ने आशा गरिरहेको थिएँ, यो संसारकै उत्कृष्ट स्टेडियममा। तर सबैभन्दा महत्त्वपूर्ण कुरा जित्नु नै थियो।"

चार खेलमा २ मा जित र २ मा बराबरीसहित रियल मड्रिड ८ अंकसहित लिगको दोस्रो स्थानमा छ।