इजरायलमा प्रधानमन्त्री नेतन्याहु विरुद्ध चर्को विरोध प्रदर्शन

प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न धेरै काम नगरेको प्रदर्शनकारीहरूको भनाइ छ।

इजरायलमा बेन्जामिन नेतन्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौँ मानिस सडकमा उत्रिएका छन्।

आइतबार इजरायली सेनाले गाजाको एक सुरुङमा छ बन्धकको शव फेला पारेको बताएको थियो। त्यसपछि इजरायलीहरू सरकारको विरोधमा उत्रिएका हुन्। त्यहाँको शक्तिशाली ट्रेड युनियनका प्रमुखले गाजा बन्धकहरूको समर्थनमा सोमबार ‘पूर्ण हडताल’ को आह्वानसमेत गरेको थियो। 

यससँगै आइतबार शान्तिपूर्ण रूपमा शुरू भएको आन्दोलनले सोमबार उग्र रूप लिएको छ। प्रदर्शनकारीको भीडले प्रहरीका अवरोधहरू तोड्दै तेल अविभका प्रमुख राजमार्गहरू अवरुद्ध गरेका छन्। आन्दोलनकारीले टायर पनि जलाएका छन्।

हातमा इजरायली झण्डा बोकेर तेल अविभ, जेरुसेलम र अन्य धेरै शहरहरूमा प्रदर्शनकारीहरू निस्किएका छन्। प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न धेरै काम नगरेको उनीहरूको भनाइ छ। साथै सरकारले बन्धकहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्न दबाब दिएका छन्।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि त्यहाँबाट २५१ जनालाई बन्धक बनाएर लगेको थियो।