कुशे औँसी: गोकर्णेश्वर मन्दिरमा सिदादान गर्नेको भीड (तस्वीरहरू)

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ।

काठमाडाैँ– भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन्।

त्यस्तै यो पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ-आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।

आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। त्यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ।

यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ। यसैगरी रसुवा र नुवाकोट संगमस्थल वेत्रावतीमा पनि मेला लाग्छ।

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी