पतिको अवकासपछि पत्नीले सम्हालिन मुख्य सचिवको पद

गत अगस्ट ३१ मा सेवाबाट अवकास पाएसँगै भी वेणुले मुख्य सचिवमा नवनियुक्त आफ्नै श्रीमतीलाई जिम्मेवारी हस्तान्तरण गरे।

केरलामा सन् १९९० को ब्याचकी आईएएस (भारतीय प्रशासन सेवा) अधिकारी शारदा मुरलीधरन राज्यको नयाँ मुख्यसचिव बनेकी छन्। रोचक त के छ भने, उनलाई उनकै श्रीमान् भी वेणुले जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

गत अगस्ट ३१ मा सेवाबाट अवकास पाएसँगै भी वेणुले मुख्यसचिवमा नवनियुक्त आफ्नै श्रीमतीलाई जिम्मेवारी हस्तान्तरण गरे। केरला सरकारले अगस्ट २१ मा मुरलीधरनको नियुक्तिको पुष्टि गरेको थियो। यसअघि उनी केरल सरकारमा अतिरिक्त मुख्यसचिव (योजना र आर्थिक मामिला)को रूपमा कार्यरत थिइन्। वेणु र शारदा मुरलीधरन दुवै सहब्याची आईएएस अधिकारी हुन्।

मुरलीधरन अबका ८ महिना राज्य सरकारको मुख्य सचिवको जिम्मेवारीमा रहने छिन्।

भारतीय कांग्रेसका नेता तथा केरलको तिरुवनन्तपुरमका सांसद शशि थरुरले केरलमा कुनै आईएएस अधिकारीले आफ्नी पत्नीलाई मुख्य सचिवको जिम्मेवारी सुम्पेको यो पहिलो पटक भएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा यसको बारेमा पोस्ट साझा गर्दै थरुरले लेखेका छन्, "केरलका निवर्तमान मुख्यसचिव डा भी वेणुले औपचारिक हस्तान्तरण समारोहमा मुख्य सचिवको पद आफ्नी पत्नी शारदा मुरलीधरनलाई हस्तान्तरण गरेका छन्। जहाँसम्म मलाई याद छ, यस्तो भएको भारतमै पहिलो पटक हो।"