कमला नदीमाथि पुल नबन्दा स्थानीयलाई डुंगाकै सहारा

यतिबेला कमलावारि घर, पारि खेतबारी हुनेहरूका लागि नदी वारपारको एक मात्र विकल्प डुंगा बनिरहेको छ।

सिरहा– हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि पुल निर्माण नहुँदा सिरहा र धनुषावासी फेरि पनि डुंगाकै सहारामा नदी तर्न बाध्य छन्। वर्षा शुरू भएसँगै नदीमा पानीको बहाव बढेपछि विकल्पका रूपमा यहाँ वर्षौंदेखि यस्तै नियति दोहोरिरहन्छ।

अरू समय काठेपुलको सहारामा आवतजावत गर्ने स्थानीय वर्षासँगै नदीको बहावले पुल बगाउँदा वर्षा यामभर यसरी नै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन्। स्थानीयले विगतमा यस्तो समस्या भोगे पनि १३ वर्षअघि पुल निर्माण शुरू भएपछि समस्या धेरै रहँदैन होला भन्ने अपेक्षा गरेका थिए। तर बहुप्रतीक्षित उक्त पुल अझै निर्माण नहुँदा समस्या ज्यूको त्युँ छ।

यतिबेला कमलावारि घर, पारि खेतबारी हुनेहरूका लागि नदी वारपारको एक मात्र विकल्प डुंगा बनिरहेको छ।

“घर मात्रै वारि हो, खेतबारी र गोठ पारि नै छ। बस्तुभाउलाई दानापानी गर्न भए पनि दिनको एक दुई पटक त आउजाउ गर्नैपर्छ। हाम्रो जीवन त मर्नु न बाँच्नु भएको छ,” सिरहा नगरपालिका–६ का स्थानीय लीला यादवले आफ्नो पीडा पोखे, “कमला नदीमा पक्की पुल बन्न नसक्नु यहाँका नागरिकहरूका लागि दुर्भाग्य हो। पुस्तौँपुस्तादेखि बाउबाजेले जुन दुःख र सास्ती खेपे, हाम्रा छोरानातिले यही सास्ती बेहोर्नुपरेको छ।” 

दैनिकजसो डुंगाबाट नदी वारपार गर्दा पाएको हैरानी र दुःख भन्दाभन्दा अब त थाकिसकेका उनको भनाइ छ।

यो पनि : पप्पु कन्स्ट्रक्सन संलग्न कमला पुलः निर्माणमै ‘कैफियत’, बजेट सकियो पुल चलेन

निर्माणाधीन अवस्थामै करिब तीन वर्षअघि पुल भासिएको थियो। भासिएको पुलभन्दा करिब १० किलोमिटर दक्षिणतर्फ नेपाल–भारत सीमाक्षेत्र नजिक गत वर्षदेखि झोलुंगे पुल सञ्चालनमा रहेको छ तर उक्त पुल पायक नपरेको स्थानीयको गुनासो छ। 

“यहाँ पुल निर्माण हुनसकेको छैन। झोलुंगे पुलले त्यस आसपासका नागरिकलाई सहज भए पनि बाँकी क्षेत्रलाई सहज भएन। नदीमाथि पल बन्नुको विकल्प छैन,” डुगामा मोटरसाइकल चढाएर सिरहाबाट घर फर्किँदै गरेका कमला नगरपालिका–५ धनुषाका अरविन्द पासवानले भने। 

सिरहाको साररश्वरनाथ घाटस्थित कमला नदीमा दैनिक चार वटा डुंगा वारपार गरिरहन्छन्। स्थानीयदेखि टाढाटाढासम्मका सयौँ मोटरसाइकल यात्रु तथा पैदल यात्रुले डुंगाबाटै नदी तर्ने गरेका छन्। जसमध्ये स्थानीयले मासिक/वार्षिक रूपमा केही अन्नपात डुंगा खियाउने माझीलाई बुझाउने गरेका छन्। 

टाढाटाढाका यात्रुले प्रतिमोटरसाइकल एक सय शुल्क तिर्ने गरेको माझी रामअवतार सहनीले जानकारी दिए। बाउबाजेदेखि गरिआएको पेसा भएकाले व्यवसायभन्दा पनि सामाजिक सेवा गरिरहेको उनले बताए।

“चार दशकलेखि यहाँ डुंगा चलाइरहेको छु, बाउबाजेदेखिको पेसा नै यही हो। मेरो जुनी पनि डुंगा चलाउँदै बित्यो। छोराहरूले पनि यही पेसा अँगालिरहेका छन्,” उनले भने।

बिहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाटछेउ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने यहाँका माझीहरूको दिनचर्या बनेको छ। यसैमध्येका अर्का माझी हुन कमला नगरपालिका–७ का ७० वर्षीया रामसेवक सहनी। उमेर बुढो भए पनि शरीरमा जोस भने जवान माझीसरह नै छ उनको।

“के गर्नु वर्षाका दुई/चार महिना त हो डुंगा चलाउन पाउने। यही डुंगा चलाउन पनि नदीमा बाढी पर्खनुपर्छ। सानै उमेरदेखि गर्दै आएको र जानेको सीप भएकाले ज्यानले साथ दिएसम्म त काम गर्नै पर्‍यो,” सहनीले भने।

कमला नदीमा पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुंगा चलाइरहेका माझीहरू बताउँछन्। डुंगाबाट जोखिमपूर्ण यात्रा गरेर भए पनि थोरै राहत मिलेको स्थानीयको भनाइ छ।