बांग्लादेशमा बाढीबाट ११ जिल्ला प्रभावित, हजारौँ घरबारविहीन

बांग्लादेशमा बाढीबाट प्रभावित ११ जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने देशभर सात लाखभन्दा बढी घरपरिवार विस्थापित भएका छन्।

बांग्लादेशमा बाढीका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ। तस्वीर : सिन्ह्वा

बांग्लादेशमा बाढीबाट प्रभावित ११ जिल्लामा ५९ जनाको मृत्यु भएको छ। साथै, ५३ लाखभन्दा बढी मानिस प्रभावित भएको द डेली स्टारले जनाएको छ। न्यून आय भएका किसानले बाढीका कारण बालीनालीका साथै घरलगायत जीविकोपार्जनका आधारसमेत गुमाएका छन्। 

बाढीले आफ्नो माटोको घर बगाएपछि बस्ने ठाउँ नभएर छिमेकीकहाँ शरण लिनुपरेको मौलवीबाजारको कुलौरा उपजिल्लाको मिरपारा गाउँकी ६५ वर्षीया तबाह नुरुन बेगमले बताइन्। 

वर्षापछि आएको बाढीका कारण मनु नदीको किनारमा तटबन्ध भत्किँदा स्थानीयका घर डुबानमा परेका छन्। हाल बाढीको पानी घटे पनि क्षतिग्रस्त घर फर्कन सक्ने अवस्थामा नरहेको सोही गाउँका अटोरिक्सा चालक सुजान मियाले बताए।

मिरपाराका बासिन्दा जमशेद अलीको एक मात्र आम्दानीको स्रोत तरकारी बगैँचा बाढीले बगाएको छ। उनी अब परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन्। 

मौलवीबाजार जिल्ला राहत तथा पुनर्वास अधिकारी मोहम्मद सादु मियाका अनुसार जिल्लामा हालै आएको बाढीबाट करिब आठ हजार ७८६ घर क्षतिग्रस्त भएका छन्। उनले बाढीपीडितको पुनर्स्थापना माग गर्दै सम्बन्धित उच्च अधिकारीलाई पत्र पठाएको बताए।  

स्थानीयका अनुसार बाढीले घर तथा घरका काठपात बगाएको छ। मर्मतका लागि रकम नभएकाले आफ्नो परिवारले आफन्तकहाँ शरण लिएको बुरिचाङ उपजिल्लाको मोहिस्मारा गाउँका बासिन्दा एमए आजिमले बताए। 

बुरिचाङ उपजिल्लाकी निर्बाही अधिकारी (यूएनओ) शाहिदा अख्तरले यस क्षेत्रमा करिब ४० हजार घर क्षतिग्रस्त भएको जानकारी दिइन्। 

आइतबार प्रकाशित सरकारी प्रतिवेदनअनुसार बाढीको अवस्था बिस्तारै सुधार हुँदै गएको छ। तर पनि‍ देशभर सात लाखभन्दा बढी घरपरिवार अझै बाढीका कारण विस्थापित छन् । 

चट्टोग्राम, फेनी, खागडाचारी, हबिगन्ज, सिलहट, ब्राह्मणबरिया र कक्स बजारलगायतका जिल्लामा बाढी कम भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयको प्रतिवेदनले जनाएको छ।

यसैबीच मौलवीबजारमा बाढीको अवस्था सुधार भएको र कुमिला, नोआखली र लक्षमीपुरमा स्थिति बिस्तारै सुधार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदनमा अनुसार हाल सात लाख पाँच हजार ५२ घरपरिवार अझै पनि डुबानबाट प्रभावित छन्।  

बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले बुलेटिनमा अधिकांश प्रमुख नदीका बहाव घट्दो क्रममा भएकाले देशभर बाढीको स्थितिमा सुधार आउने सम्भावना रहेको जनाएको छ।