दैजी–जोगबुढा सडक ५ पटक म्याद थप्दा पनि बनेन

कञ्चनपुरबाट डडेलधुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान छोटो दूरी पर्ने दैजी जोगबुढा सडक पटक–पटक समय थपिएर पनि निर्माण नहुँदा स्थानीय घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्।

कञ्चनपुर– महेन्द्रनगर र डडेलधुराको भित्री मधेश जोड्ने दैजी जोगबुढा सडक पाँच पटक म्याद थप्दासमेत निर्माण सम्पन्न भएको छैन।

विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नागार्जुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा पनि नौ किलोमिटर सडक खण्ड मात्रै कालोपत्र भएको छ।

सडक निर्माणका लागि पाँचौँ पटक विसं २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ।

कञ्चनपुरबाट डडेलधुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान छोटो दूरी दैजी जोगबुढा सडक पटक–पटक समय थपिएर पनि निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।

उक्त सडक निर्माण नहुँदा डडेलधुराको भित्री मधेशका स्थानीय धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्। “डडेलधुरा र कञ्चनपुर जोड्ने यो छोटो दुरीको सडक नबन्दा हामीले घुमाउरो बाटो आवतजावत गर्नुपर्ने बाध्यता छ”, स्थानीय रामबहादुर बुढामगरले भने। उनले सडक नहुँदा जोगबुढा र परशुराम क्षेत्रको कृषिउपज बिक्रीवितरणमा समस्या हुने गरेको बताए। “सडक भइदिएको भए यहाँ उत्पादित दाल तरकारी महेन्द्रनगर बिक्री गर्न लैजान सजिलो हुने थियो”, उनले भने। 

सडक निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा चुरे पहाडमा सडक किनारामा निर्माण गरिएका नालीसमेत पुरिन लागेको स्थानीय महेश भट्टले बताए। “बनेका पर्खाल र नालीसमेत जीर्ण भएका छन्,” भट्टले भने, “वर्षातमा हरेक वर्ष सडकमा क्षति हुने गरेको छ।” 

डडेलधुराको आधा जनसंख्या भएको भित्री मधेशलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको वैकल्पिक मार्गसमेत हो। 

पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सडक निर्माणमा ढिलाइ भएको जनाएको छ। सूचना अधिकारी आनसिंह डाँगाका अनुसार सडक निर्माण सम्पन्न नहुँदा हरेक वर्ष वर्षातमा बाढीले क्षति गर्ने गरेको छ।  हालसम्म निर्माण व्यवसायीले १८ करोड ३६ लाख रुपैयाँ रकम भुक्तानी पाइसकेको छ। 

कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेलधुरा पुग्न १६५ किलोमिटर दूरी पार गर्नुपर्छ।