छोरीको विवाहपूर्व उनको भावी घर कत्तिको सुरक्षित छ, ‘पार्टनर’ कति सुझबुझयुक्त छन्, बुझ्नुस्। बिहेपछि पनि कुनै विषयमा तनाव भइराखेको छ कि सोध्नुस्। ‘ऊ त ज्वाइँकी भई’ भनेर ढुक्कले नबस्नुस्।
अन्य सम्बन्धझैँ दाम्पत्य जीवन पनि सम्झौता हो। यसमा सानातिना मनोमालिन्य र असहमति स्वाभाविक हो। तर घरभित्र लोग्ने स्वास्नीबीच सम्बन्ध राम्रो भएन, झगडा पर्न थाल्यो र भौतिक आक्रमणसमेत हुन थाल्यो। यौनहिंसा हुन थाल्यो तर धेरैजसो यस्ता घटनामा महिलाले सहेरै ‘घर जोगाएर’ बसेको देखिन्छ। लोग्नेले गम्भीर खालका हिंसा गर्दा महिला बिरलै प्रतिकार गर्छन्। तथापि, अन्यायमा प्रतिकार मान्छेको स्वभाव हो। तर समाजले के भन्ला?, माइतीको इज्जत के होला?, छोराछोरीको भविष्य के होला भन्दै हिंसामा महिलाहरू हत्तपत्त प्रतिरोध गर्दैनन्। हिंसा सहेर बस्छन्। यो कथा र मनोदशा सम्भवतः नेपाली महिलाको मात्र नभएर दक्षिण एशियाका धेरै महिलाको हो।
नेपाली–अमेरिकी युवती ममता काफ्ले भट्टको हत्या भएको खबर सामाजिक सञ्जालमा आलै छ। अमेरिकी प्रहरीले उनको हत्या भएको बताएको छ। त्यस घटनाबारे आएका केही विवरणले के बुझ्न सकिन्छ भनेर पहिलेदेखि नै श्रीमान् श्रीमतीबीच सम्बन्ध राम्रो थिएन। ममता मात्रै होइन, झ्याइँझ्याइँ बाजा बजाएर घर भित्रिएका माया, करुणा र दिलकुमारीहरू श्रीमान्बाट पिटिइनेगरेका छन्। कहिलेकाहीँ त लासै दम्पच पारिएका खबर पनि हामी सुन्ने गर्छौं, जसरी ममताको भएको छ। सात समुन्द्रपारि होस् या वारी, जहाँसुकै! तर कहिलेसम्म नारीले आफूमाथि भइरहेको हिंसा सहने? हिंसाकै बीच कतिन्जेल श्रीमान्को अँगालोमा बाँधिँदै 'जिम्मेवार श्रीमती'को भूमिका निर्वाह गरिरहनुपर्ने?
पितृसत्ता दीक्षित कतिपय आमा र सासू भन्ने गर्छन्, ‘हेर्, महिलाले सहनुपर्छ। महिला कुलको इज्जत हो।’ तर सारा गोल, परिवार र गाउँसमाजको इज्जत र मर्यादाको ठेक्का केबल महिलाको मात्रै हो? अझ अझै ठूलो प्रश्न, महिलाको मात्रै भागमा पर्ने यो कस्तो इज्जत र मर्यादा हो? मर्यादा भन्ने कुनै त्यस्तो लक्ष्मणरेखा छ भने त्यो रेखाभित्र पुरुष पनि रहनुपर्ने होइन? इज्जत भनिने आत्मपरक दायित्व महिलाको भागमा मात्रै किन? सारा जगत्को खुशीको ठेक्का महिलाको मात्र हो?
हे २१औँ शताब्दीका नारी हो, बिहे गरियो भन्दैमा श्रीमान्लाई नै सर्वस्व नठान्नू। सन्देश र संशयको सानो ठाउँ बाँकी राख्नू। जन्मेका सन्तानलाई बाउआमाले छोराछोरी भनेझैँ एउटा विधिले विवाह गरेको व्यक्ति हो तिम्रो लोग्ने। हामी कसैकी छोरी भएजस्तै हाम्रा श्रीमान् कसैका छोरा हुन्। बस् सकियो! पौराणिक कथाका आदेश सत्य मान्दै पतिलाई ‘पति परमेश्वर, महादेव या भगवान्’को दर्जा दिने भूल नगरौँ।
आफ्नो श्रीमान्लाई शिव मान्ने हो भने आफूलाई पनि भगवतीझैँ उन्मुक्त पार्न सकौँ। भगवती र शिवको प्रेम–उन्मादका कथाहरू पढौँ र बुझौँ, भगवती (काली) कति स्वतन्त्र थिइन्! किनकि इज्जत भन्नु वास्तवमा स्वतन्त्रता हो। कसैको सत्त्व (अस्तित्व) को सम्मान नै तिनको सम्मान हो। मर्यादा हो। पिँजडामा थुनेर भोग गर्नुले कसैको इज्जत जोगिने कुरा मध्यकालीन चेतना हो।
अर्को कुरा, श्रीमानको मायामा भुलेर कुनै पनि श्रीमतीले आफ्नो अस्तित्व बिर्सने गल्ती नगरौँ। श्रीमान् मात्रै सर्वस्व किन पनि होइनन् भने आफ्ना सन्तानलाई सर्वस्व ठान्दै हाम्रा बाआमा रातदिन कुशलताको कामना गर्दै बसिरहनुभएको छ। त्यसैले 'पतिव्रता' हुने नाममा आफ्नो जन्मघर /माइतीप्रतिको दायित्व र कर्तव्यसमेत हामी नभुलौँ।
महिला हिंसाका घटनाले यति उद्वेलित बनाउँछ कि कतिपय अधम पुरुषलाई दुत्कार्न मन लाग्छ! बाजा-बरियाँत लिएर दुलही लिन जाने, घर भित्र्याउने अनि घर भित्रिएको भोलिपल्टदेखि श्रीमतीलाई आफ्नो सेवामा जुटाउने, शरीर सुखभोग गर्ने र श्रीमतीलाई गर्भिणी तुल्याउने! के यति मात्रै हो र पतिको दायित्व? श्रीमतीको सुख-दुःख, हर्ष-आँसु, सफलता-असफलता, आरोग्य-बिमारीलगायत विषयमा साथ र समभाव पतिको नैतिक दायित्व होइन?
माइतीले मन भारी बनाएर ‘आफ्नो मुटुको टुक्रा’लाई बिदा गरेका हुन्छन्। आफ्नो छोरीको सुखदु:खको साथी भएकै कारण ससुरालीले पनि ज्वाइँलाई सम्मान र खास दर्जा दिएका हुन्। परम्परागत मेजमान मात्र खाने ज्वाइँ यस युगको अपेक्षा होइन। आफ्नो छोरी दिदी र बहिनीको पुरुष असल सहयात्री सम्बन्धितको अपेक्षा हो। एक खालको शक्ति सन्तुलनका कारण मात्र ज्वाइँको विशेष हैसियत बनेको हो। कुनै दिन आफ्नी श्रीमती र ससुरालीले पत्याउन छाड्दा 'ज्वाइँ दर्जा'को सम्मान र चुरीफुरी बाँकी रहँदैन।
आदरणीय बाबाआमा, दाजुभाउजू र भाइबुहारी, आफ्नो फूलसरी छोरी/बहिनी र दिदीलाई बिहे गरेर पठाउनुपूर्व हजार पटक सोच्ने गर्नुहोस्। ज्वाइँ बस्ने देश, तिनको धन र ‘स्ट्याटस’ देख्नेबित्तिकै आँखा चिम्लेर छोरी तिनैलाई नदिनुहोस्। सकेसम्म छोरीलाई स्वतन्त्र निर्णय गर्न दिनुहोस्। आफैँ छनौट गर्नुपूर्व तिनलाई आफैँ विवेकपूर्ण ढंगले श्रीमान् रोज्न सक्ने पनि बनाउनुहोस्। अर्को कुरा, छोरी/दिदीबहिनी बिहे गरेर पठाइयो, अब सबै खालका दायित्वबाट मुक्त भइयो भन्ने कदापि नठान्नुस्। उनको विवाह भएको हो, उनीप्रति तपाईंहरूको र तपाईंहरूप्रति उनको सारा माया, ममता र दायित्व सकिएको होइन।
त्यसो हुँदा, छोरीको विवाहपूर्व उनको भावी घर कत्तिको सुरक्षित छ, छोरीको ‘पार्टनर’ कति सुझबुझयुक्त छन्, बुझ्नुस्। बिहेपछि पनि श्रीमान् श्रीमतीबीच कुनै विषयमा तनाव भइराखेको छ कि सोध्नुस्। ‘ऊ त ज्वाइँकी भई’ भनेर ढुक्कले नबस्नुस्। तपाईंकी छोरीलाई ज्वाइँमाथि पनि गुनासो हुनसक्छ। ज्वाइँलाई पनि छोरीमाथि गुनासो हुनसक्छ। त्यसका लागि छोरी र ज्वाइँका कुरा ध्यानपूर्वक सुन्नुहोस्, मनन गर्नुहोस्। समस्यामा केही गडबडी त छैन भनेर जाँचिराख्नुस्। आवश्यक पर्दा युग सुहाउँदो सुझाव दिनुहोस्, मार्गदर्शन गर्नुस्। जति नै सन्तान हुर्के पनि आफ्ना सन्तानप्रतिको कर्तव्यबाट अभिभावक कहिल्यै विमुख हुन मिल्दैन।
कानूनी अधिकार आफ्ना ठाउँमा छन्, जति नै श्रीमान्/श्रीमती भने पनि श्रीमतीको भावनात्मक र अन्य सहायता उनको माइती नै हो। यो कर्तव्यको विषय हो। अतः पुरातन समाजले बनाएका पुरातन मर्यादाभन्दा आफ्ना दिदी, बहिनी र छोरीहरूको भावनाको ख्याल गर्नुहोस्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
