खहरे खोलामा बाढी: धरानका बस्ती जोखिममा

खहरे खोलामा आएको बाढीले धरान–१३ का सात घरमा क्षति भएको छ। करिब १० घर बढीको उच्च जोखिममा छन्।

धरान– भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन्।

धरान–१३ की राधिका लिम्बूले घरभित्र पानी पसेपछि सफा गर्न दुई दिन लागेको बताइन्। “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने डरले जाग्राम बस्नुपर्छ,” उनले भनिन्, “राति आफन्तकामा बास बस्न जाने गरेका छौँ।” 

खहरे खोलामा बस्तीमाथिबाट लगातार बाढी आउने गरेपछि यहाँका स्थानीय विस्थापित हुने अवस्थामा छन्। पानी पर्न थालेपछि घर छाडेर सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था रहेको स्थानीय कमला राईले सुनाइन्। खोला नजिकै घर भएकाले उच्च जोखिममा रहेको उनको भनाइ छ। 

सरकारले आधुनिक प्रविधि र दक्ष प्राविधिक लगाएर खहरे खोलामा आउने बाढीको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने धरान–१३ का स्थानीय लाक्पा शेर्पाले बताए। उनले भने, “स्थानीय कति दिनसम्म यसरी त्रासमा रातभर जाग्राम बस्ने?” 

सोमबार दिउँसोको वर्षासँगै आएको बाढीले एउटा घरमा क्षति भएसँगै परिवारलाई आफन्त कहाँ सर्न आग्रह गरिसकिएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए। “खहरे खोलामा आएको बाढीले कहीँ बिजुलीका खम्बामा क्षति हुने सम्भावना छ, तत्काल खोला नियन्त्रण गर्न सकिएकाले अहिलेसम्म क्षति हुन पाएको छैन,” उनले भने। 

बाढीले धरान–१३ का सात घरमा क्षति भएको छ। करिब १० घर बढीको उच्च जोखिममा छन्। “बाढीले पूरै खोला कटान गर्न थालेकाले स्थानीय सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ग्याबिन लाउने काम शुरू गरिसकेका छौँ,” उनले भने, “खोला आउँदा कटान गर्दै लाने भएपछि तत्कालै जेसीभी ल्याएर बस्ती जोगाउने काम भएको छ।” 

भदौ १३ गते र १७ गते दिउँसो आएको वर्षाका कारण करिब तीन करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष काफ्लेले बताए।