गोरखा–आरुघाट सडक: हट्यो जुगेपानी पहिरोको सास्ती

गोरखा–आरुघाट सडकखण्डको जुगेपानी पहिरोका कारण २० वर्षदेखि यात्रीले हैरानी खेप्दै आएका थिए। यस वर्ष पहिरो रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको छ।

गोरखा– गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ। २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको हो।

वैशाख महिनामा पहिरो रोकथामको सबै काम सम्पन्न गरेसँगै बर्खामा कुनै समस्या नभएको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए। “बर्खामा पानी पर्ने बित्तिकै सधैँ जसो सडक भासिने, माटो बग्ने र सवारीसाधन आवागमन अवरुद्ध हुने गरेको थियो,” उनले भने, “अहिलेको अवस्थामा पहिरो रोकथाम भएको देखिन्छ, यसपालिको बर्खामा यात्रीले विगतका वर्षमा जस्तो हैरानी भोग्नुपरेको छैन।”

जुगेपानीमा करिब १०० मिटर सडक हरेक वर्ष बर्खामा पानी परेपछि जमिन भासिने, माटो बग्नेलगायत समस्या हुँदै आएको थियो। भूगर्भविद्सहितको इन्जिनियर टोलीले पहिरो नियन्त्रणका लागि अध्ययन गरी करिब एक वर्ष लगाएर नियन्त्रण गरेको हो।

यसले गोरखा सदरमुकामबाट उत्तरी धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सजिलो भएको छ। जुगेपानीको पहिरो रोकथाम गर्न तनहुँ सडक डिभिजन कार्यालयमार्फत तीन करोड ४५ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। 

जमिनलाई सुक्खा बनाएर जमिनको पानीलाई पाइपमार्फत निकासा गरी जुगेपानी पहिरो नियन्त्रणको काम गरिएको इन्जिनियर हरिबहादुर लामाले बताए। 

एक वर्षसम्मका लागि पहिरो गइरहेको ठाउँमा सडक ग्राभेल मात्र छाडिएको र थप ‘सेटल’ भएपछि कालोपत्र गरिने उनको भनाइ छ।