बाँकेको नरैनापुर–३ गेगली गाउँका श्यामलाल पासीको घरमा झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्याका कारण भदौ १२ मा उनकी बुहारी उषा, १४ मा भाउजू शान्ति र १६ मा नातिनी नन्दनीको निधन भएको छ।
राँझा– बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँका ३८ वर्षीया उषा पासी भदौ १० मा बिरामी परिन्। निको होला भन्दाभन्दै दुई दिनपछि उनको निधन भयो।
श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन। यस्तै लक्षणबाट संक्रमित भएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो। दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि श्यामलाल विक्षिप्त भएका छन्।
श्यामलालले पाँच दिनको अवधिमा बुहारी उषा, भाउजू शान्ति र नातिनी नन्दनी गुमाएका हुन्। उनी अहिले घरको बाहिर टोलाएर बस्ने गर्छन्। “सोच्दै नसोचेको दुःख बेहोर्नुपर्यो, घरमै ठिक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ,” उनले भने, “स्वास्थ्य संस्थामा लैजान पनि नपाउँदै घरमै तीन जनाको निधन भयो।”
गेगली गाउँका १० वर्षीय युसुफ शेखको पनि भदौ १२ गते मृत्यु भएको थियो। गेगली गाउँवासी अहिले शोक र भयमा छन्। गाउँका अन्य नागरिकमा संक्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानदेखि गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
स्वास्थ्य शिविरमा श्यामलालले पनि स्वास्थ्य जाँच गराए। अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले जीवनजल र पानी शुद्धीकरण गर्ने औषधी दिएका छन्। झाडापखाला, पेट दुख्ने र ज्वरो आउने समस्या देखिनासाथ घरमा उपचार गर्दागर्दै परिवारका तीन सदस्यको मृत्यु भएपछि श्यामलालले बुढेसकालमा ठूलो दुःख बेहोर्नुपरेको छ।
निःशुल्क स्वास्थ्य शिविर ३६५ नागरिकको स्वास्थ्य जाँच गर्दा गाउँका तीन जनामा मात्रै झाडापखालाको समस्या देखिएकाले अवस्था सामान्य रहेको कालाफाँटा स्वास्थ्य चौकी प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिए।
“स्वास्थ्य जाँचका क्रममा झाडापखाला देखिएका तीन जनामध्ये दुईजना अहिले उपचारपछि घर फर्किनुभएको छ। एक जनालाई भेरी अस्पतालमा पठाइएको छ,” उनले भने।
भारतसँग सीमा जोडिएको गेगली गाउँमा झाडापखालाबाट भदौ १२ गते स्थानीय ३८ वर्षीया उषा पासी र १२ वर्षीय युसुप शेखको निधन भएको थियो। भदौ १४ गते ६५ वर्षीया शान्ति पासी र १६ गते आइतबार १२ महिनाकी बालिका नन्दनी पासीको मृत्यु भएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए।
उनले मृत्यु भएकामध्ये उषा, नन्दनी र शान्तिमा विषाक्त खानाको असरका कारण झाडापखालाको आशंका गरिएको बताए। युसुपमा ज्वरो आउने समस्या देखिएकाले झाडापखालाबाटै मृत्यु भएको भन्न सकिने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ।
झाडापखाला फैलिएको सूचना आएपछि गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गेगली गाउँमा खुला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरमा जाँचका लागि आएका ३६५ नागरिकलाई स्वास्थ्य अवस्थाअनुसार जीवनजललगायत औषधि वितरण गरिएको उनले जानकारी दिए। स्थानीय ताज मोहम्मद खानले अझै पनि गाउँका मानिस बेलैमा उपचार गर्न स्वास्थ्य संस्था नगई घरेलु विधि अपनाउँदा अकालमै ज्यान जाने अवस्था रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
