चीनमा स्कुल बस दुर्घटना: ११ जनाको मृत्यु, १३ घाइते

मंगलबार बिहान बस सडक छेउमा रहेका अभिभावक र विद्यार्थीहरूको भिडसँग ठोक्किएको थियो। दुर्घटनामा मृत्यु हुनेमा ६ अभिभावक र ५ विद्यार्थी छन्।

तस्वीर: रोयटर्स।

पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर स्कुल बस मानिसको भिडसँग ठोक्किँदा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अभिभावक र विद्यार्थीहरू रहेको सरकारी सञ्चारमाध्यम सीसीटिभीले जनाएको छ। 

मंगलबार बिहान शानडोङ प्रान्तको ताइआन शहरको विद्यालय पुग्दा चालकले गाडीको नियन्त्रण गुमाएको बताएको छ। बस सडक छेउमा अभिभावक र विद्यार्थीहरूको भिडसँग ठोक्किएको थियो। उक्त दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। 

सामाजिक सञ्जालमा प्रसारण भएको फोटो र भिडियोमा रगतले लतपतिएका मानिस खैरो बस नजिकै सडकमा लडेको देखाइएको छ। ड्राइभरलाई स्थानीय प्रहरीले पक्राउ गरेको र घटनाको अनुसन्धान भइरहेको सीसीटिभीले जनाएको छ। 

गत जुलाईमा चीनको मध्य शहर चाङ्सामा एउटा गाडी पैदल यात्रीसँग ठोक्किँदा आठ जनाको मृत्यु भएको थियो।