एमबीबीएसको प्रवेश परीक्षाको नतिजाबारे छानबिन गर्न सांसदको माग

सांसदहरूले चिकित्सा शिक्षा आयोगले लिएको परीक्षाको नतिजाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

काठमाडौँ– राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

शून्य समयमा बोल्दै सांसदले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद कृष्णप्रसाद पौडेलले चिकित्सक शिक्षा आयोगले प्रकाशित गरेको एमबीबीएस प्रवेश परीक्षाको नतिजामा लापरबाही गरेको पाइएको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरे।

सांसद गोमादेवी तिमिल्सिनाले पनि चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको परीक्षाको नतिजाको विश्वसनीयताप्रति प्रश्न उठेको बताइन्। उनले सत्यतथ्य पत्ता लगाउन माग गरिन्। 

सांसद भुवनबहादुर सुनुवारले माध्यमिक शिक्षा परीक्षामा देखिएको विकृति पुनः चिकित्सा शिक्षासँग सम्बन्धित परीक्षामा पनि उस्तै अवस्था देखिएकाले दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए। 

यस्तै, सांसद उर्मिला अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्रीले केही दिनपहिले प्रहरी प्रमुखका सम्बन्धमा दिएको भनिएको अभिव्यक्तिका बारेमा सत्यतथ्यसहित यथार्थ कुरा सदनलाई जानकारी गराउन माग गरिन्। 

सांसद नारायणदत्त मिश्रले ब्राजिलको विमानस्थलमा नेपाली अलपत्र परिरहेको तथा रसियामा पनि नेपालीको अवस्था उस्तै रहेको बताए। 

सांसद मदनकुमारी शाह गरिमाले रसियाले गैरकानूनी रूपमा नेपाली नागरिकलाई सेनामा भर्ना गरेको र हालसम्म ४० नेपालीको निधन भइरहेको पाइएकाले तत्काल नेपाली नागरिकको जीवन सुरक्षाका लागि पहल गर्न माग गरे। 

सांसद युवराज शर्माले संघीय प्रणालीलाई सुदृढ बनाउनका लागि प्रहरी समायोजनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।