नेप्सेसँगै खुम्चियो कारोबार रकम

मंगलबार २३८ वटा कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर ९६ करोड ५२ लाख १० हजार ८९९ मा खरिदबिक्री भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ मा कायम भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार २३८ वटा कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर ९६ करोड ५२ लाख १० हजार ८९९ मा खरिदबिक्री भएको छ।

यस हप्ताको कारोबारमा शुरूका दुई दिन आइतबार र सोमबार दैनिक डेढ अर्बभन्दा बढीको कारोबार भएको थियो। मंगलबारको कारोबारमा ७८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १०९ वटा कम्पनीको सेयरमूल्य घटेको छ। 

मंगलबार तीनवटा समूहका बाहेक सबै समूहका उपसूचक घटेका छन्। जीवन बीमा समूह ०.६७, लघुवित्त समूह १२.४० र अन्य समूह ८.२८ अंकले बढेको छ। बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३५.३ र निर्जीवन बीमा समूहको उपसूचक २७.५ अकले घटेको छ।

त्यस्तै, बैंकिङ समूह ५.३१, विकास बैंक समूह २३.८६, वित्त समूह १.२२, होटल समूह ३.१३ र जलविद्युत् समूह ८.७७ अंकले घटेको छ। व्यापार समूह ६.९८ अंकले घट्दा म्युचूअल फन्ड ०.१० र लगानी समूह ०.५२ अंकले घटेको छ।

मंगलबारको कारोबारमा सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य प्रतिकित्ता ८.१७ प्रतिशतले बढेको छ भने एनएमबि बैंकको शेयर मूल्य प्रतिकित्ता ६.७ प्रतिशतले घटेको छ।

कारोबार रकम र सेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्ट आठ करोड १२ लाख ३४ हजार बराबरको एक लाख ३९ हजार ५०३ कित्ता सेयर किनबेच भएको छ।