नेप्से परिसूचक सामान्य अंकले बढ्यो, साढे १३ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.२० को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। नेप्से परिसूचक ६.९० अंकले बढेर २८३० को विन्दुमा कायम भएको हो।

३२८ कम्पनीको तीन करोड पाँच लाख ९९ हजार ८९० कित्ता शेयर एक लाख ४४ हजार १९७ पटक खरिदबिक्री भयो। जसबाट १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

मंगलबारको कारोबारमा विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, जीवन बीमा २.२८, लघुवित्त ०.३६ र निर्जीवन बीमा ४.७८ प्रतिशतले बढेको छ। अन्य सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ ०.६७, वित्त १.५७, जलविद्युत् ०.५०, लगानी ०.४४, उत्पादन तथा प्रशोधन ०.१४, म्युचुअल फन्ड ०.०३, व्यापार ०.४१ र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ।

सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो।

सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ८.८६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४ करोड ७२ लाख २३ हजार २७३ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको सात लाख ४४ हजार १५० कित्ता शेयर किनबेच भएको छ।