पर्वत अस्पतालमा ५ वर्षदेखि भेन्टिलेटर र आईसीयू प्रयोगविहीन

अस्पतालमा पाँच शय्या आईसीयू र सातवटा भेन्टिलेटर छन्। कोभिड–१९ को संक्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर र आईसीयू अहिलेसम्म पनि प्रयोगमा आउन सकेका छैनन्।

पर्वत– आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आईसीयू प्रयोगविहीन बनेका छन्। अस्पतालमा पाँच शय्या आईसीयू र सातवटा भेन्टिलेटर छन्। तर भेन्टिलेटर बिरामीले उपभोग गर्न पाउँदैनन्। कोभिड–१९ को संक्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन्। लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन्। 

गण्डकी प्रदेश सरकारको एक करोड ६९ लाख रुपैयाँ लगानीमा आईसीयू र भेन्टिलेटर तयार पारिएको थियो। यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको संख्या अहिलेसम्म सात पुगेको छ। तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन।

पाँच वर्षअघि अस्पतालको पुरानो भवनमा आईसीयू कक्ष निर्माण गरिएको थियो। तीनजना डाक्टर र तीनजना नर्सले भेन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए। उनीहरूले सिकेको भेन्टिलेटर सीप पनि प्रयोगमा आउन पाएको छैन। १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ। सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो। त्यस क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले जानकारी दिए।  

भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आईसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको उनले बताए। एउटा भेन्टिलेटर चलाउन छुट्टै डक्टर, एकजना एनेस्थेसियालोजिस्ट, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको आवश्यकता पर्ने उनको भनाइ छ।

सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक पर्छ। तर एकजना पनि नहुँदा समस्या भएको डा. बाँस्तोलाले बताए। “पहिले त यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ। त्यही हिसाबको कन्सल्टेन्ट आउनुहुन्छ। १५ शय्या अनुमति भएको अवस्थामा यो सञ्चालन गर्न सकिँदैन,” उनले भने। 

कोभिड–१९ को संक्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले पनि तत्कालै सहयोग गरेका थिए। झन्डै पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखेको भए पनि बेलाबेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको अस्पतालको दाबी छ। स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका डक्टर पठाइदिए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएका अवस्थामा मात्रै भेन्टिलेटर सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ। 

अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले यसबारेमा प्रदेश सरकारमा पटक–पटक कुरा गरे पनि सुनुवाइ नभएको बताए। “यहाँ रहेका भेन्टिलेटर सञ्चालन गर्ने हो भने मुस्ताङदेखिका बिरामीले पर्वत अस्पतालमै सेवा पाउने थिए तर प्रदेशले यो किन देखिरहेको छैन?”, गिरीले भने।