रेशम चौधरी भन्छन्- हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा जाँदैनौँ [अन्तर्वार्ता]

निर्वाचन परिणामले त्रिशंकु संसद बन्ने आकलन भइरहँदा दलहरूले सरकार गठनको कसरत थालेका छन्। यस्तोमा ३ सिटसहित संघीय संसद्मा प्रतिनिधित्व गर्न लागेको नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिएला?

नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित संघीय संसद्मा प्रतिनिधित्व गर्दैछ। पार्टीको संरक्षकमा रेशम चौधरी छन्। 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा संघमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको उन्मुक्ति पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले दुई लाख ७१ हजार छ सय ९६ मत प्राप्त गरेको छ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका उनको पार्टी निर्वाचन परिणाम आएसँगै सरकार गठनका सन्दर्भमा पुनः चर्चामा रहेको छ। सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिन्छ भन्ने कुरा जनचासोको विषय बनेको छ। 

निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत समसामयिक विषयमा राससले गरेको कुराकानी:  

भर्खरै आम निर्वाचन सम्पन्न भएको छ, निर्वाचनलाई कसरी लिनुभएको छ?
निर्वाचन जनमत परीक्षण गर्ने विधि हो। यसलाई पार्टीले स्वाभाविकरूपमा लिएको छ। यसपटकको निर्वाचनमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षण देखियो। परिणामले जनताले परिवर्तन चाहेको देखिएको छ।

निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्ति पार्टीले ल्याएको मतको यहाँले कसरी समीक्षा गर्नुभएको छ?
निर्वाचनबाट हाम्रो पार्टीको विचार र मुद्दा अनुमोदन भएको छ। जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन्। हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ। 

जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौँ। तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन। जहाँसम्म परिणामको कुरा छ, हामीले छोटो समयमा संघ र प्रदेशमा गरी १२ सांसद पाउँदैछौँ। पाँच निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार दुई सयभन्दा कम र नौ स्थानमा एक हजारभन्दा कम मतले पराजित हुनुभएको छ। स्थानीय तहमा करिब सय जना साथीहरू निर्वाचित भइसक्नुभएको छ।

तपाईंको पार्टीलाई प्राप्त मतलाई कसरी विश्लेषण गर्नुहुन्छ?
टीकापुर घटना राजनीतिक घटना हो। तर पनि हाम्रा साथीहरू जेलमा छन्। कैयौँले मुद्दा खेपिरहनुभएको छ। यसपटक हामीले तीन प्रकारका मतदाताबाट माया पायौँ। टीकापुर घटनाले मन दुःखेका, हाम्रो न्यायका लागि मत राख्नेहरू र नयाँ अपेक्षा राख्ने मतदाताले हामीलाई सहयोग र समर्थन गरी मतदान गर्नुभएको छ।

अरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
मैले पुराना दल तथा नेताबाट व्यक्त विचार हेरिरहेको र सुनिरहेको छु। उहाँहरूले हामीहरूलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्ने खालका लाञ्छना लगाइरहनुभएको छ। तर हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एकपटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ।

मधेश केन्द्रित दल र पूर्वसहकर्मीप्रतिको बुझाइ के छ?
उहाँहरूप्रति खास केही भन्नु छैन। मैले उहाँहरूलाई सडकमा गइदिनुस्, माइकमा मात्रै बोलेर हुँदैन भनेको थिए। तर उहाँहरूले सहानुभूति बटुल्नका लागि मात्रै बोल्नुभयो। यसमा निकै दुःख लागेको छ। त्यहाँका जनताले पनि मतमार्फत उहाँहरूप्रतिको गुनासो व्यक्त गरिसकेका छन्। अर्को चन्द्रकान्त (सीके) राउत मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो। उहाँको जनमत पार्टी मधेसमा वैकल्पिक शक्तिका रूपमा उदाएको छ। बाँकी त हेर्नु नै छ।

सरकार गठनका लागि छलफल भइरहेको छ, यसबीचमा तपाईंसँग कसैले सत्ता समीकरणबारे कुराकानी गरेका छन्?
म आठ वर्षदेखि जेलमा छु। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सधैँ सरकारमै छन्। मधेस केन्द्रित दलका नेताहरू पनि कुनै न कुनै रूपमा सरकारमै हुनुहुन्छ। उहाँहरूबाट हेर्न केही बाँकी छैन। कुराकानी भए पनि नतिजा नदेखिएसम्म अर्थ रहन्न।  

सरकार गठनमा तपाईंहरूको भूमिका के हुन्छ?
हामी सबैसँग सकारात्मक नै छौँ। जबसम्म हाम्रा मुद्दाहरू सम्बोधन हुँदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौँ। कुरा प्रस्ट छ, जुन बाटोबाट मलगायत थुप्रै साथीहरू थुनियौँ, मुद्दा खेप्यौँ, त्यसबाट मुक्त गर्नुपर्‍यो।

त्यसो भए तपाईंहरूको मुख्य माग के हो त?
हाम्रा माग पुरानै छन्। पटक–पटक उहाँहरूलाई भनिएकै हो। टीकापुर घटना राजनीतिक घटना हो, त्यहीअनुसार व्यवहार गरिनुपर्थ्यो, हालसम्म गरिएको छैन। फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरूसँग सहकार्य हुन्छ। त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनुपर्दछ।