काठमाडौँ महानगरद्वारा पलेशालाई ५ लाख रुपैयाँसहित सम्मान

काठमाडौँ महानगरपालिकाले पेरिस पारालम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पेरिस पारालम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।

बुधबार काठमाडौँ प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सम्मानपत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो। यस्तै, पलेसाकी आमा पनिता गोवर्धन र बुवा प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो। 

सम्मान कार्यक्रममा धारणा राख्दै प्रमुख शाहले पलेशाको जितले नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको बताए। 

उनले भने, "नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ। सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ।"

यो पनि: पारालम्पिक पदक विजेता पलेशालाई नगर परिक्रमा गराएर स्वागत

पलेशाका आमाबुवाको योगदानका कुरा गर्दै उनले, खेलमा लाग्नेले पढ्दैनन् भन्ने अभिभावकको सोच परिवर्तन हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गरे। 

यस्तै, उपप्रमुख सुनिता डंगोलले, पलेशाले आगामी खेलमा भाग लिएको हेर्ने अवसरको अपेक्षा व्यक्त गरिन्। छोरीको सफलताका लागि अभिभावकको अहम् भूमिका हुने बताउँदै उनले पलेशाका बुवाआमा, सन्तानको सफलतामा अभिभावकको भूमिकाका लागि उदाहरण भएको उल्लेख गरिन्।

त्यस क्रममा पलेशाले खेल अनुभव सुनाउँदै भनिन्, "मैले प्राप्त गरेको पदक देशकै लागि गौरव हो। यसअघि जापानमा भएको खेलमा दिन नसकेको पदक यसपटक दिलाउन सकेँ।"