शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूखुशी गरेको भन्दै कर्मचारी र स्थानीयबासी आन्दोलित

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केही पनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरू आन्दोलित छन्।

काठमाडौँ– भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केही पनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरू आन्दोलित छन्।

बुधबार प्रत्यारोपण केन्द्र अगाडि उनीहरूले अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको भन्दै आन्दोलन गरेका हुन्। उनीहरूले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैरकानूनी तरिकाले बर्खास्त चिकित्सकहरूलाई अविलम्ब पुनर्बहाली गर, मुटु, कलेजो, मिर्गौला फोक्सो तथा नशा सेवाहरूलाई तुरुन्तै सुचारू गरी व्यवस्थित गर, अस्पतालभित्र हुने सबै प्रकारका उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गर आदि लेखिएका ब्यानर बोकेर प्रदर्शन गरेका थिए।

आन्दोलनमा सहभागी जनक शर्मा लामिछानेले सरकारले ४–५ वटा प्रत्यारोपणको अनुमति दिएको भएता पनि मिर्गौलासम्बन्धी बाहेक अरु सेवाबाट वञ्चित हुनु परेको गुनासो गरे। सरकारबाट प्रत्यारोपणका लागि पाउने सेवा सुविधा अस्पतालले खर्च गरेको, उपकरण र जनशक्ति पनि उपलब्ध भएको तर सबै व्यवस्था हुँदा पनि सेवा सञ्चालन भने नभएको हुँदा आन्दोलन गर्न बाध्य भएको उनले बताए।

उनले भने, "सरकारले ४–५ वटा प्रत्यारोपणको अनुमति दिएको रहेछ। त्यसको लागि आवश्यक स्रोतसाधन उपलब्ध पनि रहेछ। तर अहिलेसम्म मिर्गाैलाको मात्रै भएको अरु सबै सेवा सञ्चालन नभएको देखियो। सरकारबाट पाउने सेवा सुविधा खर्च भएको छ, उपकरण र जनशक्ति पनि उपलब्ध छन् तर पनि काम नहुँदा हामी आवाज उठाउँन बाध्य भयौँ।"