युक्रेन युद्धका बीच आणविक हतियारको सिद्धान्त परिवर्तन गर्दै रुस

रुसले आणविक हतियारको प्रयोगबारे आफ्नो आधिकारिक अडानमा परिवर्तन आएको संकेत गरेको छ।

रूसमा बनेको अन्तरमहाद्वीपीय आणविक ब्यालिस्टिक मिसाइल, जुन गत मे ९ मा विजय दिवस परेडमा रेड स्क्वायरमा देखिएको थियो। तस्वीर: सिन्ह्वा

रुसले आणविक हतियारको प्रयोगबारे आफ्नो आधिकारिक अडानमा परिवर्तन आएको संकेत गरेको छ। युक्रेनको कुर्स्क सीमा क्षेत्रमा लगातार भएको घुसपैठको बीचमा रुसका उप विदेशमन्त्री सर्गेई र्‍याबकोभले आइतबार यसबारे जानकारी दिएका हुन्। उनले रुस आणविक सिद्धान्तलाई संसोधन गर्ने प्रक्रियामा रहेको बताए।

यो सिद्धान्तले आणविक हतियार प्रयोग गर्न सकिने अवस्थाहरू निर्धारण गर्नेछ। पश्चिमा देशहरूले युक्रेनलाई उक्साएर युद्धलाई बढावा दिइरहेको रुसको आरोप छ। आइतबार रुसी राज्य मिडिया एजेन्सी टाससँग कुरा गर्दै मन्त्री सर्गेई र्‍याबकोभले आणविक हतियारको प्रयोगलाई नियन्त्रित गर्ने रसियाको आणविक सिद्धान्तलाई परिमार्जन गर्ने काम ‘उन्नत चरणमा’ रहेको बताएका थिए। युक्रेनसँगको युद्धको सन्दर्भमा उनले पछिल्लो समयको द्वन्द्वको अनुभवको अध्ययन र विश्लेषण गरेर निर्णय गरिने बताए।

यसमा एसभीओ (विशेष सैन्य अपरेसन) को सम्बन्धमा रुसका पश्चिमी विरोधीहरूको बढ्दो कार्यहरूसँग सम्बन्धित चीजहरू पनि समावेश छन्। यद्यपि र्‍याबकोभले आणविक नीतिमा भएको परिवर्तनलाई कहिले अन्तिम रूप दिने हो भन्ने स्पष्ट पारेनन्। राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने महत्त्वपूर्ण पक्ष भएकाले यो काम कहिले सम्पन्न हुन्छ भन्ने स्पष्ट जवाफ दिन नसकिने उनले बताए।पछिल्ला केही दिनमा रुसले आणविक हतियारको प्रयोगलाई लिएर लगातार आक्रामक बयान दिएको छ।

यो पनि: विश्वमा आणविक हतियारको भयः ‘सन्की शासक’लाई सनक नचढोस्

रुसको विद्यमान आणविक सिद्धान्तअनुसार आफू वा आफ्ना सहयोगीहरू विरुद्ध परमाणु वा सामूहिक विनाशकारी हतियारहरूको प्रयोगको प्रतिक्रियामा परमाणु हतियारहरू प्रयोग गर्न सक्छ। देशको अस्तित्व खतरामा परेको बेला रुसी संघको विरुद्धमा आक्रमण भएको अवस्थामा यसले त्यस्ता हतियारहरू प्रयोग गर्न सक्छ। यस व्यवस्थाको साटो अब रुसले त्यसमा संसोधन गरेर पहिले आणविक प्रयोग गर्न मिल्ने गरी नीति निर्माणमा जान सक्छ।

रुसले आफ्नो आणविक सिद्धान्तलाई ‘रक्षात्मक’ भनेर वर्णन गरेको छ तर २०२२ को फेब्रुअरीमा रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछि, राष्ट्रपति भ्लादिमिर पुटिनले यदि यसको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई खतरामा परेमा आणविक हतियारहरू तैनाथ गर्न विचार गर्ने संकेत गरेका थिए। यस वर्षको मे महिनामा रुसले युक्रेनी सीमानजिकै रणनीतिक आणविक हतियार अभ्यास पनि गरेको थियो। उसले आफ्नो सहयोगी बेलारुसको क्षेत्रमा खतरनाक हतियार पनि तैनाथ गरेको छ।

-एजेन्सीको सहयोगमा