तत्काल वामपन्थी मोर्चा नबन्ने एमालेको निष्कर्ष

नेकपा (एमाले)ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ।

काठमाडौ– नेकपा (एमाले)ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ। बुधबार पोलिट्ब्युरो बैठकपछि एमालेले पनि बैसाखी नटेक्ने गरी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको हो।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले कुनै मोर्चाबन्दी बनाउन नहुने निष्कर्ष निकालेको बताए।

"अहिले कुनै वामपन्थी मोर्चा बन्दैन। त्यो दिशामा फर्केर हेरेका छैनौँ, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो। आज पनि एक्लै चुनाव लड्छौँ। कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ," गौतमले भने।

बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको कार्ययोजनामा ५१ जना सदस्यले आफ्नो धारणा राखेका थिए। प्रभावकारी कार्यान्वयनमा नेताहरूले जोड दिएका थिए। बैठकले १५ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ।