पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिने

पारालम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख रुपैयाँ राशिको पुरस्कार दिने भएको छ।

काठमाडौँ– पारालम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ राशिको पुरस्कार दिने भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाई ६५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। पेरिस पारालम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न  के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्यपदक जितेकी थिइन्।  यससँगै पारालम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन्।

प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए। “नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु। यसपटक हामीले पारालम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ। पलेशाको जित नेपालीको जित हो। यसले औधी खुशी तुल्याएको छ। नेपालको इज्जत बढाएको छ,” प्रधानमन्त्री ओलीले भने, “यो कीर्तिमान इतिहासमा लेखिनेछ। हामीले पुराना कीर्तिमान तोड्दै जानुपर्छ। एउटै रेकर्डमा चित्त बुझाएर बस्नु हुँदैन। हाम्रो कीर्तिमानको यात्रा शुरू भएको छ।”

सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए।

यसअघि काठमाडौँ महानगरले पनि पलेशालाई पाँच लाख रुपैयाँसहित सम्मान गरेको थियो। महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि तीन लाख रुपैयाँसहित सम्मान गरेको थियो।