आठ महिनामा नेपाल भित्रिए ७ लाख २० हजार पर्यटक

सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका छन्।

कञ्चनजंघा हिमालको भ्रमण गर्दै पर्यटक: फाइल तस्वीर।

काठमाडौँ– नेपालमा पछिल्लो आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि अगस्तसम्म सात लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन्। अगस्तमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ। सो महिनामा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन्। 

सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका हुन्। बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताए। छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइएको उनको भनाइ छ।    

बोर्डको आँकडाअनुसार अगस्तमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट पाँच हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बांग्लादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२२ को अगस्तमा ४१ हजार ३०४, सन् २०२१ को सोही अवधिमा ६ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार ७४९ जना विदेशी पर्यटक नेपाल आएका थिए।

मार्चमा सबैभन्दा बढी एक लाख ११ हजार ३७६ तथा सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन्। कोरोना महामारीपछि विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ। सन् २०२३ मा १० लाख १४ हजार ८८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए। सरकारले चालु आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।