बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा प्रियंका चोपडादेखि ओलेना जेलेन्स्कासम्म

भारतबाट नायिका प्रियंका चोपडा, एरोनटिकल इन्जिनियर सिरिसा भान्डला, लेखक गीताञ्जली श्री र सामाजिक अभियन्ता स्नेहा जवाले सूचीमा अटाएका छन्।

बीबीसीले सन् २०२२ का १०० जना प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गरेको छ। विश्वभरका प्रभावशाली महिलाबाट बीबीसीले उत्कृष्ट १०० जनाको नाम सार्वजनिक गरेको हो।

अधिकारकर्मी, पत्रकार, वैज्ञानिक, राजनीतिज्ञ, वातावरणविद्, अभियन्ता, खेलाडी, कानूनविद्, लेखक, गायिका, नायिकासहित समाजमा परिवर्तन र प्रेरणाका संवाहक बनेका विभिन्न तह र तप्काका महिलाहरू बीबीसीको सूचीमा समावेश छन्।

प्रभावशाली महिलाको सूचीमा कलाकार प्रियंका चोपडा जोनास, नायिका सेल्मा ब्लेयर, गायिका बिली आइलिस, युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्का, युरोपेली युनियनकी अध्यक्ष उर्सुला भोन डर लियेन, रुसी गायिका आला बोरिसोभ्ना पुगाचेभा, इरानी आरोही एल्नाज रिकाबी, भेनेजुएलाकी खेलाडी युलिमार रोजास, घानाकी लेखक नाना दार्कोवा सेकयिमालगायत महिलाहरू छन्।

भारतबाट मात्रै चार जना महिला बीबीसीको प्रभावशाली १०० जनाको सूचीमा छन्। नायिका प्रियंका चोपडा, एरोनटिकल इन्जिनियर सिरिसा भान्डला, लेखक गीताञ्जली श्री र सामाजिक अभियन्ता स्नेहा जवाले यस सूचीमा अटाएका छन्।

बीबीसीले हरेक वर्ष विश्वका १०० जना प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ। बीबीसीले प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गरेको यो दशौँ वर्ष हो।

बीबीसी नेटवर्कले पछिल्लो १२ महिनाभर विश्वभर चर्चित बनेका महिला र उनीहरूले समाजमा पारेको प्रभावलाई आधार मानेर उत्कृष्ट १०० जनाको सूची सार्वजनिक गर्ने गरेको छ।

यस वर्षको सूचीमा केही महिला पात्रहरूको पूरा नाम छैन, कसैको नामसमेत उल्लेख छैन तर उनीहरूका कामबारे लेखिएको छ। ती महिलाहरूको गोपनीयता र सुरक्षाका कारण विवरण गोप्य राखिएको बीबीसीले जनाएको छ।