सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्।

फाइल तस्वीर।

चैनपुर– बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ।

बिहीबार बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्।

बिहानै पाँच वटा बस मात्र सदरमुकामबाट छुटेको बस व्यवसायी जोगबहादुर दौल्यालले जानकारी दिए। उनले बिहान बझाङबाट धनगढी, काठमाडौँ, महेन्द्रनगर, डडेलधुराका लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको बताए। 

सडक खुलाउन केदारस्यूँ गाउँपालिकाको झोताबाट जेसीबी आएको तर, पहिरो नरोकिँदा खुलाउन समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए। पहिरो रोकिएपछि मात्रै सडक खुलाउन सकिने उनको भनाइ छ।