युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको पुटिनको भनाइ

युक्रेनसँग अल्पकालीन मागका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्ताबेजका आधारमा वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनले रुस युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन्। यसअघि कुर्स्क क्षेत्रमा किभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उनले अस्वीकार गरेका थिए।

युक्रेनले अगस्टमा रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमा पार आक्रमण थालेको थियो। उसले हजारौँ सैनिकलाई सीमापार पठाएर धेरै गाउँ कब्जा गर्‍यो। त्यसलगत्तै पुटिनले युक्रेनसँग कुनै वार्ता हुन नसक्ने प्रतिक्रिया दिएका थिए। 

भ्लाडिभोस्टक शहरमा रुसको पूर्वी आर्थिक मञ्चको प्रश्नोत्तरसत्रका क्रममा उनले रुस वार्ताका लागि तयार रहेको बताएका हुन्। तर सन् उनले २०२२ मा इस्तानबुलमा मस्को र किभका वार्ताकारबीच रद्द भएको सम्झौताका आधारमा वार्ता हुने शर्त राखेका छन्। सार्वजनिक नगरिएको उक्त सम्झौताका शर्त कहिल्यै पूरा भएनन्।

“के हामी उनीहरूसँग वार्ता गर्न तयार छौँ? हामीले वार्ता गर्न कहिल्यै अस्वीकार गरेका छैनौँ तर केही अल्पकालीन मागका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्ताबेजका आधारमा वार्ता गर्न तयार छौँ,” उनले भन। 

मस्कोले युक्रेनमा आक्रमण शुरू गरेलगत्तै रुस र युक्रेन सन् २०२२ को वसन्तमा एउटा सम्झौताको नजिकमा पुगेको क्रेमलिनले बारम्बार दाबी गरेको छ।

“हामी एउटा सम्झौतामा पुग्न सफल भयौँ, कुरा यही हो, उक्त दस्ताबेजमा हस्ताक्षर गर्ने युक्रेनी प्रतिनिधिमण्डलका प्रमुखको हस्ताक्षरले यसको प्रमाण दिन्छ, यसको अर्थ युक्रेनी पक्ष सामान्यतया सम्झौताबाट सन्तुष्ट थियो,” उनले भने, “उनीहरूलाई यस्तो नगर्न आदेश दिइएकाले सम्झौता लागू भएन किनकि संयुक्त राज्य अमेरिका, युरोप, केही युरोपेली मुलुक रुसको रणनीतिक हार हासिल गर्न चाहन्थे।”