बाढीपहिरोका कारण मध्यपहाडी लोकमार्गका सडक अवरुद्ध हुँदा यात्रु बीचमै अलपत्र परेका छन्। दिक्तेल–हलेसी सडकमा पर्ने खहरेखोला थुनिएर बस्तीमा बाढी पस्दा किरातचोकका होटल तथा पसलमा क्षति पुगेको छ।
खोटाङ– अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा लाखौँको क्षति भएको छ भने मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। बुधबार दिउँसोदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो।
अविरल वर्षापछि आएको बाढी तथा पहिरोले अर्खौलेको नागी, मुढे, भालुखोलालगायत विभिन्न ठाउँमा ठूलो क्षति गरेको प्रत्यक्षदर्शीले बताएका छन्। मध्यपहाडी लोकमार्गमा गएको बाढी तथा पहिरो पन्छाउन सम्बन्धित स्थानीय तह तथा सडक विभागको एक्स्काभेटर प्रयोग गरिएको छ।
जिल्लामा अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ। दिक्तेल–हलेसी सडकखण्डको नागीमा गएको पहिरो करिब पाँच सय मिटर फराकिलो भएकाले खुलाउन समय लाग्ने हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।
भालुखोलामा पहिरो खसेर दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध हुँदा शव पनि अलपत्र परेको छ। झुन्डिएर आत्महत्या गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी एक महिलाको शव दाहसंस्कारका लागि घर फर्काउने क्रममा रोकिएको हो।
बाढी तथा पहिरोका कारण मध्यपहाडी लोकमार्गका सडकहरू अवरुद्ध हुँदा यात्रुहरू बीच सडकमै अलपत्र परेका छन्। जिल्लामा विकासका नाममा जथाभाबी सडक निर्माण गर्दा आफूहरूले बर्सेनि बाढी तथा पहिरोको क्षति बेहोर्नुपरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
दिक्तेल–हलेसी सडकमा पर्ने खहरेखोला थुनिएर बस्तीमा बाढी छिर्दा दिक्तेलबजारस्थित किरातचोकका होटल तथा पसलमा क्षति पुगेको छ। लगातारको वर्षाका कारण दिक्तेल र बाम्राङको सिमानामा रहेको खहरेखोला थुनिएर बाढी आउँदा दिक्तेलको किरातचोक आसपासका घर तथा पसलमा क्षति पुगेको हो।
मध्यपहाडी लोकमार्गले बनाएको नाली थुनिएपछि खहरेखोलामा आएको बाढी सिधै बजारमा छिरेको थियो। बस्तीमा छिरेको बाढीले किरातचोकमा सञ्चालित चोलुङ होटललगायत होटल तथा पसलमा लाखौँको क्षति गरेको छ। होटल तथा पसलमा बिक्रीका लागि राखिएका लाखौँ मूल्यका सामान पानीले काम नै नलाग्ने गरी भिजेका छन्।
पहिरोले किरातचोकस्थित इकिमा इन्टरप्राइजेजद्वारा सञ्चालित होन्डा शोरुमसमेत हिलाम्मे भएको छ। पहिरोले शोरुमा राखिएका १५ लाख रुपैयाँभन्दा बढीको सामानमा क्षति भएको सञ्चालक किरणजित राईले बताए। घरभन्दा माथिबाट झरेको पहिरोले शोरुमभन्दा पछाडिपट्टि रहेको कुखुरा फार्मसमेत पुरिएको छ।
यस्तै, पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित हलेसी आयल ट्रेड एन्ड सप्लायर्समा पनि क्षति गरेको छ। पेट्रोल पम्पभन्दामाथि निर्माण गरिएको सडकबाट पहिरो झर्दा पेट्रोल पम्पको ट्यांकीमा ठूलो क्षति गरेको हो।
अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जिल्लामा पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीको भनाइ छ।
“दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जिल्लामा लाखौँको क्षति गरेको छ। अहिलेसम्म मानवीय क्षति भएका छैनन्,” उनको भनाइ छ, “क्षतिग्रस्त ठाउँहरूमा प्रहरी परिचालन गरिएको छ। अहिले पनि बाढी तथा पहिरो जानेक्रम रोकिएको छैन। क्षतिग्रस्त क्षेत्रमा खटिएका टोलीले उद्धार गरिरहेका छन्। क्षतिको विवरण आउन समय लाग्छ।”
पहिरोले जिल्लाका विभिन्न ठाउँका घर तथा गोठहरूमा समेत ठूलो क्षति गरेको प्रहरीले जनाएको छ। दिक्तेलस्थित होटल, पसल तथा व्यक्तिको घरमा पसेको पहिरो जनपद र सशस्त्र प्रहरीले पन्छाइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
