तिज पर्व मनाउँदै गर्दा महिलाहरू सचेत भएर निरंकुशताविरुद्ध, समाजमा महिलामाथि हुने हिंसाविरुद्ध, सामाजिक रूपान्तरण र चेतनाका गीत गाउन थालेका छन्।
काठमाडौँ– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व शुक्रबार मनाइँदै छ। यस पर्वमा व्रत बसेर शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ। तर, हरितालिका तिज पछिल्लो समय महिला स्वतन्त्रता, समानता र सशक्तीकरणको आवाज बन्न थालेको छ।
पितृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो।
नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेम र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ। “आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमान्का लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम गर्छ,” उनले भनिन्, “व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो, बस्नैपर्छ भन्ने पनि छैन, पारिवारिक भेटघाट, रमाइलो माहोल तयार हुन्छ, त्यो राम्रो हो।” उनलाई तिज महिलाले मात्रै मनाउनुपर्छ भन्दा पनि राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने भन्ने लाग्छ।
अखिल नेपाल महिला संघका अध्यक्ष टुकाभद्र हमालको बुझाइमा महिलाको स्वतन्त्रताका दिनका रूपमा हिन्दू महिलाले मनाउँदै आएको राष्ट्रिय पर्व तिज हो। “पहिला अहिलेजस्तो सडक सुविधा थिएन, टाढा विवाह गरेर पठाउने चलन थियो, एक दिन तिजमा बोलाएर खुवाउनुपर्छ भन्ने थियो,” उनी भन्छिन्, “घरमा भोगेका पीडा माइतीघरमा आएर सासू, देवर, जेठानी, नन्द, आमाजूले दिएको दुःख गीतमार्फत गाउँथे, अहिले महिला सशक्तीकरणको राम्रो दिन बनेको छ।”
यो पर्व मनाउँदै गर्दा महिला सचेत भएर निरंकुशताविरुद्ध, समाजमा भएका महिलामाथि हुने हिंसाविरुद्ध, सामाजिक रूपान्तरण र चेतनाका गीत गाउन थालेको उनको अनुभव छ। “समाज परिवर्तनशील छ, महिलाका साझा सवालका विषयमा तिजलाई मनाउनुपर्छ, महिला एकजुट हुनुपर्छ,” हमालले भनिन्, “महिलाले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्ने विषयमा गीत गाउनुपर्छ।” महिलाले खाएर नाचेर मात्र पर्वको सार्थकता नहुने र महिलाको हक अधिकारको आवाज उठाउने, क्षमता अभिवृद्धि गर्ने र आयआर्जन गर्ने खालका काम गर्नुपर्नेमा उनको जोड छ।
सञ्चारकर्मी तथा महिला अधिकारकर्मी वन्दना राणाले तिज पर्वलाई समानता, सशक्तीकरण र सहअस्तित्वको उत्सवका रूपमा ‘तिज उत्सव’ मनाउँदै आएकी छन्। यस वर्ष उनले सुदूरपश्चिमको कञ्चनपुरमा तिज संवाद गरेको बताइन्।
“तिज पर्वलाई महिला सशक्तीकरण, समानता, सद्भावको उत्सवका रूपमा मनाउनुपर्छ,” राणाले भनिन्, “नेपाली संस्कृतिका कुरीतिलाई हटाउँदै संस्कृति र प्रथाको गर्व गर्दै राम्रो पक्षलाई अगाडि लैजानुपर्छ भनेर तिज संवाद मनाउन लागिएको हो।”
महिला सशक्तीकरण र सद्भावका लागि पर्व असाध्यै राम्रो रहेको र गाउँ–गाउँमा धेरै महिला माइत जान पाउनु, दिदीबहिनी रमाउन पाउनु असाध्यै खुशीको कुरा भएको राणाको भनाइ छ। “एउटा वर्गले श्रीमान्का लागि व्रत बस्ने भन्ने पनि छ, हुन त व्रत बस्दा स्वास्थ्य पनि राम्रो हुन्छ, तर लहैलहैमा व्रत बस्न जरुरी छैन, करकापमा व्रत बस्न भएन,” उनले भनिन्, “महिला सशक्तीकरण, समानता र सद्भावका दृष्टिकोणले पर्व असाध्यै राम्रो हो।”
संस्कृतिविद् डा. शोभा ढुंगानाका अनुसार पहिला हिन्दू नारीले मात्र तिज मनाउने भए तापनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मूलतः महिलाको पुनः मिलनको पर्व हो। “महिलाबीच वर्षमा एक दिन भए पनि एकापसमा भेटघाट हुने अवसर मिलेको छ, संस्कृतिको प्रसार भएको छ, महिलाले खुशी साट्न पाएका छन्,” उनले भनिन्, “केही विकृति पनि छ, त्यसलाई कम गरेर संस्कृति, स्वतन्त्रता दिवस र महिलाको पुनः मिलनको पर्वका रूपमा मनाउनुपर्छ।”
तिज पर्व महिलाको पर्व भएकाले आपसमा सौहार्दपूर्ण तरिकाले, तडकभडक नगरी, महिलाको स्वतन्त्रता, सशक्तीकरण र समग्र महिलाको हितको विषयसँग पर्वलाई जोड्न जरुरी रहेको उनले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
