बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

बाढीमा बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव शुक्रबार बिहान फेला परेको छ। 

फाइल तस्वीर।

ढोरपाटन– बान्द्रे खोलामा बिहीबार राति आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ। बाढीमा बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव शुक्रबार बिहान फेला परेको हो। 

घटनास्थलभन्दा ५०० मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिए। बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो । 

मोटरसाइकल र स्कुटर बगाउँदा मृत्यु भएका बान्द्रेका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको थियो। उनीहरूको शव राति नै घटनास्थलदेखि २०० मिटर तलबाट उद्धार गरी धौलागिरि अस्पतालमा लगिएको छ। 

शुक्रबार बिहान फेला परेका सापकोटाको शव पनि पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको छ।